म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने «

म्याग्दी खोला जलविद्युतमा पाँच बैंकले लगानी गर्ने

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।
आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । नविकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिवद्ध रहेको भन्दै उनले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
उर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले उर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए । उनले देश विकासमा हाइड्रो पावरको भूमिका आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको बताए । उनले उर्जा डेभलपर्सले न्युनतम समय एवं प्रतिष्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्यहरु गरी आयोजना सम्पन्न गरिसकिएको बताए । राजभण्डारीले आन्तिरक तथा क्षेत्रिय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने पनि बताए ।
नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए । उनले विगत केही समयदेखि विश्वव्यापी रुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको बताए । उनले बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने बताए । बैंकहरुमा तरलता संकट नभएर लगानीयोग्य रकमको अभाव भएको भन्दै अध्यक्ष उपध्यायले अहिलेको अवस्था हेर्दा कम्पनीको लागत ४ रुपैयाँसम्म बढेको बताए । उनले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए । उनले देशको आर्थिक समृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महशुस भएको बताए ।
माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्