सञ्चालनमा ढिलो नगर «

ऋण लिएर बनाएका आयोजनाहरू लक्षित समयमा पूरा नहुने र पूर्ण क्षमतामा पनि चल्न नसके ती राज्यका लागि बोझ मात्रै हुनेछन् ।

सञ्चालनमा ढिलो नगर

पर्यटकीय नगरी पोखरामा क्षेत्रीय स्तरको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुँदै गर्दा रिट्ठेपानीको डाँडा कटानको विषयले विवाद सिर्जना गरेको थियो । विवादले विमानस्थलको भविष्यलाई नै संशय बनाएको थियो । तर, पछिल्लो समय सरकारले डाँडा कटान गर्न स्वीकृति दिएसँगै यसका लागि ठेक्का सम्झौतासमेत भएकाले अब विमानस्थल सञ्चालनमा आउनेमा सबै संशय हटेको छ । विमानस्थलको रनवे एप्रोचमा परेका कारण रिट्ठेपानी डाँडा कटान गर्नुपर्ने सुझाव विज्ञले दिएका थिए । दुई हेक्टरमा फैलिएको डाँडाको दुई थुम्का ४० मिटरसम्म कटान गर्नुपर्नेछ । सरकारी वनमा केही निजी जग्गा पनि परेको छ । अहिले निजी जग्गाको कटान भइरहेको छ ।
यो आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयले बनाउँदै छ । आयोजनाले यसै साता डाँडा कटानीका लागि उमा गल्वा ज्वाइन्ट भेन्चर कम्पनीलाई छनोट गरी काम अगाडि बढाउन सम्झौता आह्वान गरेको छ । सरकारले यो कामका लागि करसहित ३२ करोड ३० लाख रुपैयाँ खर्च गर्दै छ । कटानको काम सुरु भएको ६ महिनामा गरिसक्ने योजना बनाइएको छ ।
आयोजना सुरु गर्दा सन् २०२१ को जुलाई १० सम्म विमानस्थलको भौतिक निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले समयमा काम गर्न सकेन । अहिलेसमम करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग बनाइएको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार यो विमानस्थल ‘फोरडी मोडल’ मा परेको छ । यहाँ बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज उडान अवतरण गर्न सक्छन् । विमानस्थलको वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता छ ।
विमानस्थलको काम अझै पूरा नभएको अवस्थामा आगामी मंसिर १४ मा यान्त्रिक परीक्षण र पुस १७ देखि व्यावसायिक उडान गर्ने घोषणा गरिएको छ । यान्त्रिक उडानका लागि तयारी पूरा भए/नभएको सबै हेर्न एरो थाईको प्राविधिक टोलीसहितको जहाज आउनेछ ।
मुलुकका अन्य विकासे आयोजनाजस्तै यो विमानस्थलको निर्माण पनि कछुवा गतिमै छ । लक्ष्यअनुसार काम नभएपछि यो आयोजनाको समय पनि पटक–पटक थपिएको छ । यही कारण आयोजनाको लागत बढेर २२ अर्ब रुपैयाँ पुगिसकेको छ । सरकारले यो आयोजना बनाउन छिमेकी मुलुक चीनबाट ऋण लिएको हो । अन्य विदेशी मुलुक वा दातृ निकायबाट लिँदै आएको भन्दा यो आयोजनाका लागि चीनबाट लिएको ऋणको ब्याजदर चर्को छ । विमानस्थल समयमा र पूर्ण क्षमतामा चल्न सकेन भने चर्को ब्याजदरको ऋणले हामीलाई थिच्ने छ । यसै पनि पछिल्ला वर्षहरूमा हाम्रो वैदेशिक ऋणको आकारले छलाङ मारेको अवस्था छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४० प्रतिशतभन्दा बढी ऋणको भार पुगिसकेको छ । यस्तोमा ऋण लिएर बनाएका आयोजनाहरू लक्षित समयमा पूरा नहुने र पूर्ण क्षमतामा पनि चल्न नसके ती राज्यका लागि बोझ मात्रै हुनेछन् । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि लक्ष्यभन्दा ढिलो सम्पन्न भई अहिले सञ्चालनमा छ । यो विमानस्थल प्रयोगमा विदेशी विमान कम्पनीहरूले अहिलेसम्म खासै चासो देखाएका छैनन् । स्वदेशी एयरलाइन्सहरू पनि भैरहवाबाट उडान गर्न बहाना बाजी गर्दैछन् । पोखरा विमानस्थलको सवालमा पनि अवस्था भैरहवाको भन्दा भिन्न छैन । त्रिभुवन विमानस्थलमा आइरहेका विमान कम्पनीलाई भैरहवाजस्तै पोखरा लैजानु वा नयाँ विमान कम्पनीलाई ल्याउनु कम चुनौतीको विषय छैन । ऋण लिएर विमानस्थल बनाउनुभन्दा त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्नु धेरै गाह्रो छ । अहिलेकै अवस्था रहे लगानी खेर जाने र ऋणको पासोमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्