एप्पलको फोन बिक्री थोरै, नाफा धेरै

अघिल्लो वर्षको समान अवधिको तुलनामा गत वर्षको अन्तिम त्रैमासिक अवधिमा एप्पलले थोरै आईफोन बिक्री गरेको छ । यद्यपि नाफा भने धेरै कमाएको छ ।
त्रैमासिक नाफा २० अर्ब डलरको कीर्तिमानी भएको छ । यसमा जापान र युरोपमा भएको वृद्धिको महत्वपूर्ण योगदान रहेको छ ।
यो परिणाम एप्पलको महँगो आईफोन एक्सको बिक्रीका लागि पहिलो आधिकारिक झलक हो ।
फर्मका प्रमुख कार्यकारी टिम कुकले १ हजार डलरमा सुरु हुने यो उत्पादनको माग अपेक्षाभन्दा बढी भएको बताएका छन् ।
फर्ममा भएको त्रैमासिक बिक्री वार्षिक मापनका आधारमा १३ प्रतिशतले वृद्धि भई ८८.३ अर्ब डलरको कीर्तिमानी भएको छ ।
सुरुमा ओरालो लागे पनि केही घण्टाको कारोबारपछि एप्पलको सेयरमा ३ प्रतिशतको वृद्धि भएको छ ।
आईफोन उत्पादनको १० वर्ष पुगेको अवसरमा एप्पलले नोभेम्बरमा आईफोन एक्स सार्वजनिक गरेको थियो ।
वार्षिक मापनका आधारमा गत वर्षको अन्तिम त्रैमासिक अवधिमा एप्पलले गरेको आईफोनको बिक्रीमा १ प्रतिशतको गिरावट आएर ७ करोड ७३ लाख कायम भएको छ । बजारमा आएपछि आईफोन एक्स एप्पलको ह्यान्डसेटमा सर्वाधिक बिक्री हुने फोन भएको कुकले बताए ।
यद्यपि यो प्रविधि कम्पनीले आगामी महिनाहरूका लागि पनि अपेक्षा गरिएभन्दा कम फोन बिक्री हुने अपेक्षा गरेको छ । यसले एप्पलका उत्पादनको माग ओरालो लाग्ने लगानीकर्ताको चिन्तालाई थप बढाएको छ ।
तर पनि ह्यान्डसेटको बिक्री ओरालो लागेको विषयमा कुक चिन्तित देखिएका छैनन् । विश्वभर सक्रिय रहेको १.३ अर्बको फोनका कारण फर्मको सेवा व्यवसाय अझै बलियो रहेको उनले बताए । यसमा एप्पल पे पनि समावेश छ ।