Logo

बिमा समिति प्राधिकरणमा रुपान्तरण

नेपाल बिमा समिति मंगलबारदेखि औपचारिक रुपमा नेपाल बिमा प्राधिकरणमा रुपान्तरण भएको छ ।
मंगलवार कुपण्डोलस्थित पुरानो बिमा समितिको भवनमा नेपाल बिमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरूवात गरेका छन् । सरकारले ल्याएको नयाँ बिमा ऐन २०७९ मंगलबारबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गत भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बिमा विधेयक २२ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधानअनुसार बिमा ऐन मंगलबारबाट लागू भएसँगै बिमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए । नयाँ बिमा ऐनले बिमा ऐन २०४९ ले पूरा गर्न नसकेको कामलाई पूरा गर्नसक्ने उनले बताए । अध्यक्ष सिलवालले बिमाको बजार,जोखिमको मात्रा र बिमा कारोबारका प्रवृत्तिहरु बढ्दै गएकाले अबको बिमा बजार बिमा ऐन २०४९ ले धान्ने बजार नभएको बताए । उनले आर्थिक रुपले सुरक्षा प्राधान गर्ने बिमा भएकाले नयाँ बिमा ऐनले आर्थिक सुरक्षा गर्न धेरै नयाँ माध्यमहरु दिएको बताए ।
अध्यक्ष सिलवालले सरकारलाई बिमाका विषयमा बिमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको बताए । उनले अब बिमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिंगो बिमा क्षेत्रको नियमन गरिने बताए । उनले बिमा क्षेत्रमा धेरै समस्या रहेकाले सरकारले बिमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको बताए ।
अध्यक्ष सिलवालले बिमा समितिबाट मर्जरको लागि स्वीकृत पाएका कम्पनीहरुले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताए । अबदेखि बिमा समितिले गर्ने सबै काम कारवाहीहरु बिमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बिमा समितिले गरेको काम कारवाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्