Logo

सेलरोटीको व्यापारले धानेको रोजीरोटी

घरगाउँमा सबै परिवारको भान्सामा पाक्ने सेलरोटीको स्वादलाई व्यावसायिक रुप दिने हो भने दैनिक हजारांै रुपैयाँ कमाउन सकिन्छ भन्ने उदाहरण अरुणा गुरुङले दिएकी छन् । नक्सालस्थित भाटभटेनी सुपरमार्केटका लागि सेल बिक्री गर्न सानो कोठाबाट सुरु गरेको उनको व्यवसाय अहिले वार्षिक करोडौं कारोबार गर्ने बनेको छ । त्यतिमात्र होइन, उनले एक दर्जन जनालाई रोजगारीसमेत दिएकी छन् ।
खोटाङबाट आएकी गुरुङले १० वर्षअघि नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटको पछाडि सानो स्टलमा सेलरोटी बनाएर व्यापार सुरु गरेकी थिइन् । तिहारको बेलामात्र १० लाख रुपैयाँभन्दा बढीको सेलरोटी बिक्री हुने गरेको उनले बताइन् । अरु समयमा मासिक ५ लाख रुपैयाँसम्मको सेल बिक्री गर्ने गरेको अरुणाको भनाइ छ । उनले ५ वटा सेल भएको एउटा प्याकेटको १ सय ४० र ५ वटा अनरसालाई १ सय ५० मा बिक्री गर्दै आइरहेको बताइन् ।
कामदार अभावका कारण सेलरोटी र अनरसा मागअनुसार पुर्‍याउन नसकेको उनको भनाइ छ । भाटभटेनीका उपत्यकामा रहेका बिक्री केन्द्रमध्ये ३ वटामा अभैm पनि सेल र अनरसाको माग आउने गरे पनि दिन नसकेको उनले जानकारी दिइन् । उनको मुख्य बिक्री स्थल भाटभटेनी नै हो । उपभोक्ताको अर्डरअनुसार पनि उनले सेलरोटी बनाएर दिने गर्दै आएकी छन् । उनीसँग अहिले परिवारका सदस्यबाहेक ६ जना कामदार छन् ।
तिहारमा भने अत्यधिक माग हुने गर्छ । भाटभटेनीको स्टोरमा सेलरोटी पकाएर बेच्ने गरेका उनीहरु अहिले भने फराकिलो स्थान खोज्दै कालोपुल सरेका छन् । भाटभटेनीको भवनमा बनाउने ठाउँ साँघुरो भएर त्यहाँबाट सरेको अरुणाले बताइन् । उनले अहिले कालोपुलमा जग्गा भाडामा लिएर टहरा हालेर त्यहीँ सेल बनाएर बेच्ने गरेकी छन् । सेल र अनरसाको व्यापारबाट छोरीलाई २० लाखभन्दा बढी खर्च गरेर अष्टे«लिया पढ्न पठाएकी छन् ।
गुरुङ परिवारले दैनिक कम्तिमा ६० किलोबराबरको चामलबाट सेल र अनरसा बनाउँदै आएको बताएको छ । सोडा प्रयोग नगरी बनाएको सेलको स्वाद राम्रो भएपछि ग्राहकले उनको परिकार खोजी खोजी खरिद गर्ने गरेका छन् । उनले दैनिक २ देखि ३ कार्टुन तेल प्रयोग गर्दै आए पनि पुरानो तेल भने पुन: प्रयोग नगर्ने बताइन् ।
उनी भन्छिन्, “काठमाडौं आएको त ४० वर्ष भयो होला याद छैन तर काम गर्न थालेको १० वर्ष पुग्यो । सुरुमा चक्रपथको भाटभटेनी पछाडि सानो स्टलबाट सेल उत्पादन गर्ने र बिक्री वितरणबाट सुरु गरेको हामी सबै त्यहीँ बस्थ्यौं । बिस्तारै चल्दै गएपछि त्यहाँ साँघुरो भएर त्यहाँबाट अहिले यहाँ (कालो पुलको चोक) मा सरेका हौं ।”
अरु ठाउँमा सोही आकारको एउटा सेलको ४० रुपैयाँ पर्छ भने त्यहाँ केही सस्तो रहेको छ । स्थानीयको माग समेत पूरा गर्ने हो भने सम्झौता गरिएको भाटभटेनीलाई नियमित दिन नसकिने गुरुङ परिवारले बताएको छ । “वरिपरिकालाई दियो भने भाटभटेनीभन्दा बाहिर सेलरोटी दिन पुग्दैन,” गुरुङले भनिन् । बढ्दो सेल र अनरसाको मागलाई देखेर व्यवसायलाई नयाँ तरिकाले गर्ने सोच रहेको उनले सुनाइन् । सबै काम मानिसले नै गर्नुपर्ने भएकाले उत्पादन बढी गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्