Logo

लगानी र प्राविधिक सहयोग गर्न उद्योगीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पदाधिकारी र नेपाल भ्रमणमा रहेको कोरियाली पदाधिकारीहरुको टोलीबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने भन्दै उनले निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे ।
कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसँग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भइसकेको बताए ।
नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट आफूहरुले ठूलो सहयोगको गरेको उनले बताए । नेपालमा सबै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको पनि उनले जानकारी गराए ।
महासंघकातर्फबाट कोरियन उत्पादनमूलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भइरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।
भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैँ तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्