सिरहामा पनि आन्दोलनमा उत्रिए उद्योगी–व्यवसायी

बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को मानसिक यातना दिन थालेको भन्दै निजी क्षेत्र आन्दोलन गर्दै सडकमा आएको छ । तरलता (लगानी योग्य) पूँजीको अभावमा बैंकहरुले कर्जा नदिने र लिइएका ऋणको पनि ब्याज वृद्धि गरी ताकेता गर्न थालेपछि उद्योगी व्यावसायीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले बैंकको विरुद्धमा सडक र सरकारलाई समेत ध्यानाकर्षण गराएका छन् । मुलुकको अर्थतन्त्रको सूचक नकरात्मक हुँदै विदेशमी मुद्रा सञ्चितीमा पनि गिरावट आउन थालेपछि विलासिताका वस्तु आयातमा कडाइ गर्नुका साथै प्रतितपत्र (एलसी) मा आयात गर्दा पनि शतप्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान राखेर उद्योगी व्यावसायीहरुलाई थप तनाव दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
गएको असोज ६ गते नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को विरोध गर्दै मधेसका आठवटै जिल्लाका नगर/जिल्ला उद्योग वाणिज्य संघहरुसँग छलफल, अन्तरकृया गरेर राष्ट्र बैंकलाई ज्ञापनपत्र समेत बुझाएको थियो । त्यसपछि शुरु भएको व्यावसायीको आन्दोलन अहिले देशभर फैलिएको छ ।
आइतबारमात्रै सिरहाका उद्योग वाणिज्य संघहरुले बैंकको ब्याज दर घटाउन, सम्झौता भन्दा बढी लिएको रकम फिर्ता गर्न, बैंकिङ आतंक बन्द गर्न माग गर्दै जुलुश प्रदर्शन गरेका छन् । त्यसअघि उनीहरुले स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मागको सुनुवाई नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उद्योगी व्यावसायीहरुले दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले शुरु गरेको आन्दोलन अहिले भुसको आगो जस्तै सल्किँदै गएको छ । मुलुकको आर्थिक अवस्था निकै चिन्ताजनक अवस्थामा रहेकोमा नेपाल राष्ट्र बैंकले सहजीकरणको भूमिका खेल्नुपर्नेमा एकपछि अर्को सर्कुलर जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको उद्योगी व्यावसायीहरुको आरोप छ ।
उनीहरुले राष्ट्र बैंक नियमनकारी निकाय नभएर बैंकहरुको सारथी जस्तो बनेको गुनासो गरेका छन् । सरकारले यस विषयमा चासो नलिए चरणवद्ध आन्दोलन गरेर उद्योगहरुको ताला चाबी नै सरकारलाई बुझाउनुपर्ने अवस्था आउन नदिन सरकारले समयमा नै माग सम्बोधन गर्नुपर्ने उद्योगी व्यावसायीहरुको भनाइ छ ।
सिरहाका उद्योग वाणिज्य संघहरुले आईतबार बिहान १० बजेदेखि १२ बजेसम्म बजार पसल बन्द गरेर सडकमा मौन जुलुश प्रदर्शन गरी सरकारलाई ध्यानाकर्षण गरेको लाहान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अध्यक्ष अशोक अमात्यले बताए । सोमबार बैंकहरुको प्रवेशद्वारमा धर्ना दिने र ग्राहकहरुलाई समेत बैंकले गरेको ज्यादतीको बारेमा जागरण गराउने उनले बताए ।
निजी क्षेत्र चरणवद्ध रुप सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि सडक आन्दोलनमा जानुपर्ने बाध्यता भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताए । निर्वाचन नजिकिएकोले राजनीतिक दलका नेताहरुले पनि यसतर्फ खासै चासो दिएका छैनन् ।
झण्डै दुई तिहाईको नेकपाको सरकार ढलेपछिको राजनीतिक द्वेषको प्रभाव अहिलेसम्म देखिएको छ । तत्कालिन ओली सरकारले नियुक्त गरेको गर्भनर महाप्रसाद अधिकारी यो सरकारलाई सफल हुन नदिनका लागि असहयोग गरिरहेको धेरै उद्योगी व्यावसायीहरुको बुझाई छ । अर्थमन्त्री जनार्दन शर्मा बैंकको ब्याजदर घटाउनमा सकारात्मक रहे पनि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्रीबीचको शक्ति संघर्ष देशको अर्थतन्त्रमा नकरात्मक असर परिरहेको छ ।