घरको छतभरि राताम्य खुर्सानी

त्रिपुुरासुन्दरी नगरपालिका–४ रंग डोल्पाकी रमिता बुढाको घरको छत राताम्य भएको छ । माटो र ढुंगाको मिश्रणबाट निर्माण गरिएको उनको घरको छत कलर लगाएर रातो भएको नभई खेतबारीमा उत्पादन गरिएको स्थानीय जातको खुर्सानीले रातो भएको हो । खेतबारीबाट खुर्सानी टिपेर छतमा ल्याइ सुकाउँदा छत राताम्य भएको हो ।
बुढाका अनुसार १८ क्विन्टल खुर्सानी आफ्नो बारीमा उत्पादन भएको छ । बुढाले भनिन्, “हाम्रो यहाँको खुर्सानी रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्ला भरीलाई पुग्छ । भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुने गर्दछ ।” रमिता जस्तै सरस्वती बुढाको घरमा १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ । अहिले सो खुर्सानीलाई सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ ।
बैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताइन् । अग्लो डाँडामा रहेको रंग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएको यहाँका घरका छतहरु खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले बताइन् ।
भेरी करिडोर अन्तरर्गत जाजरकोट –डोल्पा सडक खण्डको बीचमा पर्ने रंग गाउँ खुर्सानीको रातो रंगले कात्तिक र मंसिर महिना भरी छतहरु राता हुने गर्दछन् । आधुनिक प्राविधि भन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु त्यही अनुसारको योजना बनाएर खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताए ।
यहाँ २१४ भन्दा बढी घरधुरीहरु रहेका छन् । तत्कालिन सुँ गाविसको वडा नम्वर ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्वर ४ बनाएको छ । वडा सदस्य हरिवान बुढाका अनुसार वडाभरी खुर्सानी राम्रो उत्पादन हुने गर्दछ । कृषकले सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा ७० रुपैयाँ पाउँछन् । एक क्न्टिल बिक्री गर्दा ७ हजार २०० पर्ने गरेको बुढाले बताए ।
खुर्सानी बिक्री स्थानीयले २ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको भनाइ छ । माग अनुसारको पूर्ति गर्न नसकेको समेत बुढाको भनाइ छ । बैशाखमा लगाएको खुर्सानी कात्तिक, मंसिरमा टिप्ने गरिन्छ । करिव सात महिना भित्र बोटमै खुर्सानी पाक्ने गर्दछ ।
चिसो मौसम भएका कारण लामो समय लाग्ने गरेको स्थानीय बताउँछन् । गाउँमा पुगेको सडकमार्फत बोकेर त्रिपुराकोट स्थित बगरमा रहेका बजारमा बिक्री गर्ने काम हुँदै आएको छ । व्यवस्थित बजार भएमा आफूहरुले अझै खुर्सानी भारी रुपमा उत्पादन गर्ने चाहना रहेको स्थानीयको भनाइ छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचे अनुसार खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको कृषकको गुनासो छ । नगरपालिका र अन्य निकायले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने आशा गरेको स्थानीय भावना बुढाले बताइन् । रंग गाउँ खुर्सानी मात्र होइन, स्याउँको पनि उत्तिकै हर्ब रुपमा स्थापित हुँदै आएको छ ।
स्थानीय जात र कृषि विकास कार्यालयले उपलब्ध गराएको अन्य जातको स्याउले फल दिन सुरु गरेपछि स्याउमा समेत रंग गाउँ अब्बल हुँदै आएको छ । डोल्पामा सबै भन्दा बढी स्याउ यही गाउँमा उत्पादन हुने गर्दछ । मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै सहयोग नगरेको कृषि शाखाका जगतबहादुर रोकायले बताए । स्याउ र ओखरका लागि मात्र बजेट बिनियोजन गरी काम भएको उनले बताए । खुर्सानीका लागि समय, समयमा प्राविधिक रुपमा सल्लाह दिादै आएको समेत उनले जानकारी दिए ।