Logo

वातावरण विनाशबाट विश्वमा नै खडेरी परी खाद्यान्न संकट हुने सम्भावना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सिर्जना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको तस्तै हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।

खाद्यान्न उत्पादन सबलीकरणमा स्थानीय सरकारको भूमिका

आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याको रूपमा आइरहेको छ, जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकूल असरसमेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रो जस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्याँस उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्वीको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ, जसका कारण हिमश्रृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमिनको मरुभूमीकरण, बाढीपहिरो, २ हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्ने, वन्यजन्तु लोप हुने, महामारी, रोग फैलने, विनाशकारी एवम् बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन्, साथै सोबाट विभिन्न महामारी, खाद्यसंकट बढिरहेको अवस्था छ ।
वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छ । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल, कृषि भूमि आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।
वातावरण विनाशबाट विश्वमा नै खडेरी परी खाद्यान्न संकट हुने सम्भावना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सिर्जना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको तस्तै हस्तान्तरण गर्नु आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरिखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२२ को विश्व खडेरीविरुद्ध संघर्ष दिवससँगै खडेरीबाट उठ्ने नाराले मानवताको लागि विनाशकारी परिणामबाट बच्न प्रारम्भिक कार्यको आवश्यकतालाई जोड दिएको छ । विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काइसौँ शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । खडेरी दिगो विकासका लागि सबैभन्दा ठूलो खतरा हो । सन् २०५० सम्ममा यसले विश्वको तीन चौथाइ जनसंख्यालाई असर गर्न सक्छ भनी अध्ययनले देखाएको छ । अघिल्लो दुई दशकको तुलनामा २००० यता खडेरीको संख्या र अवधि २९ प्रतिशतले बढेको छ । विश्वभरि २.३ विलियनभन्दा बढी मानिस पानीको संकटमा हुन्छन् । यो डरलाग्दो विपद् हो । वास्तवमा कुनै पनि देश योबाट मुक्त हुनेछैन ।
खडेरीलाई प्राकृतिक असरका रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशका कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमश: अनुत्पादक भई खडेरीको कारण मरुभूमिमा परिणत हुँदै गरिबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरणले ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबालीभन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमिन नाश भएको छ । यसको उदाहरणका रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धान खेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्रलाई घडेरीमा परिणत गर्दा हामी बहादुरी सम्झन्छौँ, तर खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौँ । यथार्थ कुरा तीतो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्छ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषिप्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गम स्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मिटर उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्न लायक छ । ६६ प्रतिशत जनसंख्या पूर्ण रूपमा कृषिमा निर्भर छ, जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करिब ३३.६ प्रतिशत योगदान रहेको मानिन्छ ।
विश्व मानचित्रमा भूमाफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुपयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् भने हाम्रो देश नेपालमा दुई दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खलनले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने, जग्गामा बाटो, नदीनाला तथा पोखरी, ताल, रमणीय प्राकृतिक स्रोत एवं अन्न उत्पादन हुने उर्वरा भूमि को बलि चढाएका छौं ! हामीलाई थाहै छैन, माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझ पचाइरहेका छौँ । अत: प्राकृतिक स्रोत विनाश नहुने गरी उपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागी खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । यसै सिलसिलामा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको समन्वयमा हरेक वर्ष अक्टोबर १६ को दिनलाई विश्वव्यापी रूपमा विश्व खाद्य दिवस मनाउँदै आएको पाइन्छ । ‘उत्पादन, पोषण र वातावरण सुधार : सुखी जीवनको आधार’ भन्ने नेपाली नारासाथ अक्टोबर १६ मा ४२ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो । यस वर्षको नाराले माथि भनेजस्तै वातावरणमैत्री प्रविधि तथा उत्पादन सामग्रीको समुचित प्रयोगबाट पोषणयुक्त खाद्यान्नको उत्पादन तथा उत्पादकत्व वृद्धिका साथै सुरक्षित, पोषिलो तथा सन्तुलित खानाको उपयोगमा सबैलाई समेट्ने र गुणस्तरीय जीवन बिताउने कुरालाई जोड दिएको छ । त्यसैगरी यससम्बन्धी दिगो लक्ष्यमा भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने, दिगो कृषि प्रणालीको प्रवद्र्धन गर्ने आदि छन् । कृषि विकास रणनीति, १५ औँ योजना, भोकमरीको अन्त्य गर्ने चुनौती एवं बहुक्षेत्रीय पोषण योजनालगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको केही मात्रामा भने पनि कार्यान्वयन हुँदै आएको पाइन्छ । यसका लागि पन्धौँ योजनामा विशेष गरी कृषि क्षेत्रको योजनाका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभुतासहितको दिगो, प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच भएअनुरूपका कार्यक्रम तीनैवटा सरकारमार्फत कार्यान्वयन हुनु अति आवश्यक छ । चालू आर्थिक वर्षलाई आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्षका रूपमा लिई कृषिको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरणमा जोड दिएको पाइन्छ । योजनासहित कृषि बजारको समुचित व्यवस्थापन, कृषि पूर्वाधार निर्माण, कृषि यान्त्रीकरण, कृषि वस्तु ढुवानीलाई कृषि एम्बुलेन्स, कृषि बिमा, कृषि कर्जा उपयोगमा पहुँच र अनुदानलगायतका कार्यक्रम सञ्चालनमा रहे तापनि सो प्रभावकारी हुन नसकी गाउँघरबाट युवा जनशक्ति रोजगारीको नाममा विदेश पलायन भई कृषियोग्य भूमि बाँझो छ, जसले गर्दा खाद्य उत्पादनमा ठूलो असर परी विदेशबाट निर्यात गर्नुपर्ने अवस्था छ । अत: राष्ट्रिय अर्थतन्त्रको मुख्य हिस्सा ओगट्ने कृषिक्षेत्रले ठूलो मात्रामा रोजगारी ओगट्ने अवस्थालाई मध्यनजर गरी राष्ट्र निर्माणको आकांक्षा पूरा गर्न देशबाट विदेश पलायन भएका युवा जनशक्तिलाई रोकी कृषिक्षेत्रमा लगाई खाद्यान्न उत्पादनमा सबलीकरण गर्न स्थानीय सरकारको महŒवपूर्ण भूमिका हुन्छ । तबमात्र हरेक वर्ष अक्टोवर १६ मा मनाइने विश्व खाद्य दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्