जुम्लामा २८ सय जनशक्ति निर्वाचनमा खटिँदै

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको गरगर्मी बढ्दै गएको छ । उम्मेरवारहरु चुनावी ऐजेण्डाका साथ गाउँ पसेका छन् । मतादाता रिझाउ उम्मेदवार महत्वकांक्षी योजना बाढी रहेका छन् ।
उम्मेदवार गाउँ दौडामा रहेका बेला जिल्ला निर्वाचन कार्यालय, प्रशासन भने निर्वाचनका लागि कर्मचारी व्यवस्थापनमा जुटेका छन् । निर्वाचनका लागि जुम्लामा ८ सय ७८ जना कर्मचारी खटिने भएका छन् ।
जुम्लाको भौगोलिक अवस्थालाई मध्यनजर गरी आठ पालिकाका १ सय ६ वटा मतदान केन्द्रमा ८ सय ७८ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । “निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने छन्” उनले भने, “केही दिनमा कर्मचारी खटपटनको काम पनि हुने छ ।”
जुम्लामा १ सय ६ मतदान केन्द र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन् । त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
१९ सय ४० सुरक्षाकर्मी परिचालन
निर्वाचनलाई शान्त मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन बाक्लो सुरक्षा दिइने भएको छ । निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । शान्त वातबरणमा निर्वाचन हुने अपेक्षासहितको सुरक्षा योजना छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भन्छन्,“निर्वाचनको सुरक्षार्थ जुम्लामा एक हजार नौ सय ४० जना सुरक्षाकर्मी परिचालन हुने छन् । जसमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी,बीचको घेरामा शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षामा कुनै कसुर बाँकी नहने गरी सुरक्षा समिति तयारीमा जुटेको छ ।”
प्रजिअ केसरीका अनुसार आसन्न निर्वाचनमा नेपाल प्रहरीबाट ४ सय ७ जना, नेपाली सेनाबाट ४ सय ५० जना, सशस्त्र प्रहरीबाट २ सय ४० जना र म्यादी प्रहरीबाट ८ सय ४३ जना गरी जम्मा १९ सय ४० जना निर्वाचनमा खटिने भएका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्लामा सुरक्षाकर्मी १९ सय ४० जना र कर्मचारी ८ सय ४३ गरी जम्मा २ हजार ८ सय १८ जना सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरु निर्वाचनमा परिचलान हुने भएका छन् ।
मतदाता संख्या साढे ६८ हजार
जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार ६ सय ३८ जना मतदाता रहेका छन् । जसमा निर्वाचन क्षेत्र (क) मा पुरुष १८ हजार ८ सय ७८ र महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना रहेका छन् । यस निर्वाचन क्षेत्रमा चन्दनाथ नगरपालिकासहित तातोपानी, गुठिचौर, पातारासी गाउँपालिका रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र (ख) मा पुरुष १६ हजार ८ सय २२ र महिला १५ हजार ३३ जना गरी जम्मा ३१ हजार ८ सय ५५ जना मतादाता रहेका छन् ।