Logo

भारतको कजारिया सेरामिक्सले नेपालमा उद्योग खोल्ने

भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग खोल्ने भएको छ । नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको हो ।
सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले वार्षिक ८ लाख वर्गमिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ । २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने भएको छ । दुवै समूहको लगानी ५०–५० प्रतिशत हुने बताइएको छ। कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।
नेपाली बजारको मागलाई पूरा गरी निर्यात गर्ने परिकल्पनाका साथ उद्योग स्थापना गर्न लागिएको कजारिया सेरामिक्सका अध्यक्ष कजारियाले जानकारी दिए । नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिने उनले बताए । रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले देशमा रोजगारी सिर्जना गर्न यो उद्योगले महत्वपूर्ण टेवा पुग्ने बताए । कजारिया सेरामिक्स भारतमा सेरामिक–भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्