Logo

शरद ऋतुमा हिमाल चढ्न ७७ देशका नागरिकले लिए अनुमति

फाइल तस्बिर ।

यस वर्षको शरद ऋतु (अटम सिजन)का लागि आरोहण अनुमति लिनेको संख्या १३ सयभन्दा बढी पुगेको छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ४४ वटा हिमाल आरोहणको लागि ७७ देशका १३ सय ६० जनाले आरोहण अनुमति लिएका हुन् ।
आरोहण अनुमति लिनेमा १ सय ६१ समूहका १ हजार ४९ जना पुरुष र ३ सय ११ जना महिला छन् । धौलागिरी प्रथम (८१६७ मि.)का लागि ३४ जना, धौलागिरी दोश्रो (७७५१ मि.) २ जना, हिम्लुङ हिमाल (७१२६ मि.)१५६ जना, मनास्लु (८१६३ मि.) ४ सय ४ जना, सगरमाथा (८८४८.८६ मि.)का लागि ५ जना र सैवुङ (६३४६ मि.)को लागि ४० जना, नुप्त्से (७८५५ मि.)को लागि ५ जना, अमादब्लम (६८१४ मि.) का लागि ४२२ आरोहीले आरोहण अनुमति लिएका छन् । यसबाट ९ करोड रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।
यो सिजनमा आधा रोयल्टी कम हुने भएकाले गर्दा पनि विदेशी आरोहीको आरोहणमा आकर्षण बढेर गएको पर्वटन विभागले जनाएको छ । खासगरी यो सिजनमा मनास्लु हिमालका साथै धौलागिरी हिमाल आरोहणको लागि विदेशी आरोहीको आकर्षण रहेको छ ।
आरोहण अनुमति लिनेमा अमेरिकी नागरिक १ सय ३२ जना, बेलायती १ सय १४, फ्रान्सेली १ सय १९, अर्जन्टिनी २१, स्पेनी ८४, जर्मन ८५, चिनियाँ २२ र भारतीय ४८ जना छन् ।
यो सिजनमा सगरमाथा आरोहणको लागि ५ हजार ५ सय अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ भने वसन्त याममा भने सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिरे पुग्छ । आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।
यस वर्षको वसन्त याममा भने ६ हजार मिटरदेखि माथिका ४७ हिमालको ११ सय २० जनाले आरोहण पूरा गरेका थिए । यसमा १ सय ३३ महिला र ९ सय ८७ पुरुष थिए । गएको सिजनमा हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्