वैदेशिक रोजगारी ठगी तीन महिनामै दोब्बर «

वैदेशिक रोजगारी ठगी तीन महिनामै दोब्बर

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड–१९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरु पनि बढेका हुन् ।
गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । चालू आवको तीन महिनामा यो रकम बढेर १९ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर हो ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ९ करोड २ लाख रुपैयाँ रहेको थियो । कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति लिएसँगै ठगीका उजुरी समेत वृद्धि भएको विभागका निर्देशक कृष्णप्रसाद ज्ञवालीले बताए । गत वर्षको सोही अवधिको तुलनामा साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा नाममा हुने ठगीका उजुरी शतप्रतिशतले वृद्धि भएका कारण चालू आवको अन्त्यसम्म झनै बढ्ने देखिन्छ । यसमध्ये पनि मेनपावर ठगीको तुलनामा व्यक्तिगत र कानुनअनुसार खडा भएका अन्य संस्थाबाट हुने ठगी बढेको पाइएको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । चालू आवको ३ महिनामा ठगीको दाबी रकम २० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि विभागमा उजुरी दर्ता भएको छ । चालू आवको असोजसम्म वैदेशिक रोजगारी पठाइदिने भन्दै २४२ वटा व्यक्तिगत उजुरीमा परेको देखिन्छ । विभागले गत वर्ष सो अवधिमा १५९ वटा उजुरी गरेको जनाएको छ । चालू आवको २४५ उजुरीमध्ये ४५ वटा उजुरी मिलापत्र भएर पीडितले ४२ करोड फिर्ता पाएको र १७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएका छन् । मिलापत्र रकम अघिल्लो आवको समीक्षा अवधिमा समेत आएर हाल कारोबार भएका कारण रकम बढी देखिएको हो । विभागका निर्देशक ज्ञवालीले कोभिड–१९ संक्रमण कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विभागमा ठगीका उजुरी समेत वृद्धि भएको बताए ।
विभागको अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार चालू आवको ३ महिनामा १९ करोडको ठगी उजुरीमध्ये ११ करोड ९९ लाख रुपैयाँ बराबरको विगो दाबी सहित अदातलमा मुद्दा दायर भएको छ । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह संक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाए पनि पैसा बुझ्ने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले बताएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्