पालमुनि बसेका बाढी पीडित शितले बिरामी

मुगुमा असोजको तेस्रो सातामा वर्षासँग आएको बाढीका कारण घरबार र जमिन गुमाएका स्थानीयले पालमै देनिकी कटाइरहेका छन् । बाढीका कारण एक नगरपालिका र तीन गाउँपालिकाका सयौं नागरिक प्रभावित भएका थिए ।
छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ घुइर, वडा नम्बर ८ झ्यारी, सिगाडी, टोप्ला गाँउका एक सय ५० भन्दा बढी घरपरिवारका सयौं नागरिक बाम्नीमाडु, भौसे चौर, र जंगलमा अस्थायी टहरोमा बस्दै आएका छन् । पछिल्लो समय चिसो बढेसँगै बाढी पीडितहरु बिरामी पर्न थालेका छन् । अस्थायी टहरो तथा पालमुनी रहेका वृद्धवृद्धा, केटाकेटी, बिरामी र सुत्केरी महिला तथा नवजात शिशुहरु बिरामी पर्न थालेको स्थानीय ले बताएका छन् ।
रेडक्रसलगायत विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा अस्थायी टहरो र पालमुनी रहेका पीडितहरुमा ज्वरो आउने, हातगोडा सुन्निने लगायतका समस्या देखा पर्न थालेका छन् । विभिन्न संघसंस्थाले खाद्यान्न, त्रिपाल, खानेपानी पाइप, शौचालयका सामान सहयोग गरेपनि औषधी उपचारमा चासो नदेखाएको पीडितको गुनासो छ ।
बाढीबाट बिचल्ली परेका ६ जना बिरामी हुँदा स्थानीयले जिल्ला अस्पतालमा उपचारका लागि पठाएका छन् । दिन प्रतिदिन चिसो बढ््दै गएकाले बिरामीको संख्या थपिने क्रम जारी रहेपनि सरकारी निकायबाट कुनै सहयोग नपाएको उनीहरु बतउँछन् ।