मित्र राष्ट्र भारत, जर्मनी, अस्टे«लिया र विश्वका अन्य मुलुकहरूमा खेलकुद अर्थतन्त्रले राष्ट्रकै अर्थतन्त्रमा एउटा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
राष्ट्रिय खेलकुद र अर्थतन्त्र

आजभन्दा ठीक चार दशकअघि अर्थात् सन् १९८२ मा नेपालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव स्व. शरदचन्द्र शाहको अग्रसारितामा राष्ट्रिय स्तरको खेलकुद प्रतियेगिताको अवधारणा अगाडि आएको सायदै कसैले बिर्सेका होलान् । प्रत्येक दुई वर्षमा स्वदेशमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपाली युवा खेलाडीहरूमा अनुशासन, गतिशीलता र लगनशीलता तथा सर्वोपरि रूपमा राष्ट्रियताको भावना जगाउने लक्ष्य राखेको थियो, जुन निरन्तर हाम्रा युवा खेलाडीहरूमा रहेको पाइन्छ । यस राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनुअगावै फुटबल, भलिबलजस्ता खेलहरूको प्रतियोगिताबारे नसुनिएको होइन, तर नेपालमा खेलिने सम्पूर्ण लोकप्रिय खेलहरूको राष्ट्रिय प्रतियोगिता भने पहिलोचोटि दशरथ रंगशालामा भएको थियो र त्यसको समुद्घाटन स्व. महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहका बाहुलीबाट भएको हामी खेलकुदप्रेमीहरूको मानसपटलमा ताजै छ ।
नेपालमा विभिन्न प्रकारका खेलकुदहरू खेलिन्छन् जसमध्ये सबैभन्दा लोकप्रिय खेलचाहिँ फुटबल नै हो । फुटबलबाहेक, भलिबल, क्रिकेट, टेनिस, पौडी, कबड्डी, दौड (लामो र छोटो दूरी, मार्सल आर्ट्स आदि रोमाञ्चक मानिन्छन् । सन् १९८० देखि १९९० को दशकमा नेपाली फुटबलको स्तर निकै सानदार थियो । अखिल नेपाल फुटबल संघले बाहेक पनि काठमाडाँैमा निजी क्षेत्रका संघसंस्थाहरूबाट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल टुर्नामेन्टहरू आयोजना हुने गथ्र्यो । नेपालको राष्ट्रिय खेल भने डन्डीबियो हो । भन्न सकिँदैन, केकति कारणले हो, डन्डीबियो खेल त्यति प्रचलनमा छैन । जे होस्, तत्कालीन खेलकुद नेतृत्वले नेपाली खेलकुद र संस्कृतिलाई बेजोड तरिकाले मिलाउने भरमग्दुर प्रयास गरेका थिए भन्नु अत्युक्ति नहोला । खेलकुदकै माध्यमबाट राष्ट्रको अर्थतन्त्रलाई पनि सुदृढ तुल्याउँदै लैजाने र खेलकुदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ काठमाडौँमा नेसनल स्पोर्ट्स इन्स्टिच्युटको स्थापना गरिनु सदस्य सचिव शाहकै परिकल्पना थियो । विभिन्न खेलकुदका संघ–संस्थाहरूलाई स्वायत्तता प्रदान गरी तिनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै जाने परियोजना थियो । तर, अहिलेसम्म खेलकुदलाई राज्यले आर्थिक स्रोतका रूपमा स्थापित गर्न सकेको छैन । अर्थमन्त्रालयबाट बजेट निकासा लिई खेलाडीलगायत खेलकुद संघसंस्था पाल्ने र प्रतियोगिता आयोजना गर्ने गरिएको देखिन्छ । मित्र राष्ट्र भारत, जर्मनी, अस्टे«लिया र विश्वका अन्य मुलुकहरूमा खेलकुद अर्थतन्त्रले राष्ट्रकै अर्थतन्त्रमा एउटा महŒवपूर्ण भूमिका खेलेको देखिन्छ । खेल, खेलाडी र क्लबहरूको आफ्नै मूल्य छ । आर्थिक रूपमा निजी क्षेत्र र व्यापारिक संस्थाहरूको संलग्नतामा अर्बांैको लेनदेनले खेलकुदले उपर्युक्त मुलुकहरूको प्रतिष्ठालाई बढाइरहेको सर्वविदितै छ ।
खेलकुदलाई एउटा उद्योगको रूपमा पनि हेर्ने गरिन्छ । भनिन्छ, यस उद्योगले विश्वको परिपे्रक्ष्यमा ७ सय अर्ब अमेरिकी डलरको प्रवाह गर्छ र विश्वको कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत वार्षिक योगदान पुर्याइरहेको हुन्छ— नि:सन्देह हाम्रा महŒवपूर्ण आर्थिक गतिविधिहरूमा खेलकुदले विभिन्न तरिकाले अवसरहरूको सिर्जना गरेको हुन्छ । डाक्टर, इन्जिनियर, खेलकुद स्थलहरूको निर्माण र व्यवस्थापन, खेलकुद आयोजना, खेलकुद सामग्रीहरूको उत्पादन, विज्ञापन आदि । यो पर्यटन उद्योगको उत्थानका लागि पनि एउटा आवश्यक माध्यम हो । हिजोआज त यसलाई लेजर (फुर्सदको) उद्योग पनि भन्न थालिएको छ ।
नेपाली लोकदोहोरी गीत प्रतियोगितालाई शाहले राष्ट्रिय खेलकुद प्रतियोगितामा सामेल गराएर मुलुकका गाउँ–गाउँमा सीमित रहेका प्रतिभाशाली लोकदोहोरी गाउने कलाकारहरूलाई खेलाडीको पंक्तिमा उभ्याउन सफल हुनुभएको बिर्सन सकिने विषय हो र ? नेपाली बाजागाजासहितको सांस्कृतिक प्रदर्शनीका साथै राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रम प्रारम्भ गरिने परिपाटीको थालनी गराइएको थियो । त्यसबेला खेलकुदसँग सम्बन्धित सबैलाई राष्ट्रिय पोसाक लगभग अनिवार्य नै थियो । शरदचन्द्र शाह एसियन ओलम्पिक परिषद्मा नेपालका तर्फबाट पहिलो उपाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँकै अग्रसारितामा थालिएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता पनि हुँदै आइरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका आजीवन अध्यक्ष जुवान एन्टोनियो सामारान्चसँग उहाँको मित्रता थियो । र सामारान्चपछिका उत्तराधिकारी शरद शाह नै हुनुहुनेछ भन्ने विश्व खेलकुद समुदायको अड्कल पनि थियो । नेपाली खेलकुद जगत्का स्वप्नद्रष्टा शरद शाहले खेलकुद आयोजना गर्दा व्यावसायिक घरहरूलाई संलग्न गराउने, खेलाडीहरूको अत्यधिक मनोबल बढाउने र निजी क्षेत्रलाई समग्रमा खेलकुदतर्फ आकर्षित गर्ने जस्ता अनेक सोचहरूलाई सार्थकता दिने प्रयास गर्नुभएको थियो । आज आएर हामीले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा राष्ट्रको ढुकुटीबाट ६० करोड रुपैया खर्च गर्यौं । दुई वर्षपछि प्रतियोगिताको दसौँ संस्करणमा पुग्दा अझ कति रकमको आवश्यकता पर्ने हो, त्यो पनि राष्ट्रकै ढुकुटीबाट तान्ने हो त ?
खेलकुद परिषद्ले राज्यको कोषबाट भन्दा पनि प्रायोजकहरूको सूची बनाएर त्यताबाट खर्च जुटाउने अभ्यास गर्नु जरुरी छ । पंक्तिकार स्वयं आयोजक समितिमा रही पोखरामा दुईवटा अंतर्राष्ट्रिय ट्रायथलन प्रतियोगिता आयोजना गरिएको थियो । ती प्रतियोगिताहरू स्टार बियर र नाइक स्पोर्ट्स बियरजस्ता प्रायोजककोे सहयोेगबाट भव्यताका साथ अन्तर्राष्ट्रिय सहभागीहरूसमेतलाई संलग्न गराई सम्पन्न भएका थिए । एउटा प्रतियोगितामा त विश्व विख्यात इङ्लिस क्रिकेटका क्याप्टेन इयान बुथमलाई प्रमुख अतिथिका रूपमा बोलाएर खेलाडीहरूको उत्साह अभिवृद्धि गराउने काम गरेको पनि सम्झना हुन्छ । भूपू ब्रिटिस लाहुरे रमेश भट्टचनले यी सबै कामको एकल समन्वय गरेका थिए । निजी क्षेत्रको प्रयासबाट अहिले पनि विभिन्न खेलका नेपाली खेलाडीहरूलाई अंतर्राष्ट्रिय खेल जगत्सँग सुपरिचित गराइनु उपयुक्त हुन्छ । हामीले नेपाल आइस हकी एसोसियन स्थापना गरी नेपालमा आइस हक्कीको सुरुवात गर्ने भरमग्दुर प्रयास गरेका हौं । तर, आइस हक्कीको रिंक निर्माण एकदमै खर्चिलो हुने र यसमा प्राविधिक जनशक्ति र भौतिक संरचना जुटाउने परिपाटी मिलाइरहेकै बेला हाम्रो संस्थामा अनपेक्षित रूपले राजनीतिक हस्तक्षेप भयो । हामीले खेलकुदको नाममा महŒवाकांक्षी राजनीतिक कार्यकर्ताहरूको हस्तक्षेप हुनु स्वाभाविक मान्यौँ । तर यस्तो हुनु खेलकुदको विकासमा बाधक हुन्छ । खेलकुदबाट मुलुकमा र्सिजना हुने वातावरणले बालबालिका, युवायुवती र प्रौढहरूलाई समेत हृष्टपुष्ट र दीर्घायु रहन मद्दत पुर्याउँछ नै । यसले मुलुकको आर्थिक विकासमा पनि त्यत्तिकै सहयोग गर्छ । स्वस्थ एवं दीर्घायु बाँच्ने व्यक्तिले परिवार र समाजमा उत्पादकत्व वृद्धि गरी आर्थिक गतिविधिलाई ऊर्जा प्रदान गरिरहेको हुन्छ । त्यसकारण खेलकुदलाई विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सरकारी एवं गैरसरकारी कार्यालयमा अनिवार्य बनाइनुपर्छ । राष्ट्रिय खेलकुद संस्थाहरूलाई सक्रिय तुल्याई स्थानीय तहहरूमा समेत खेलकुदका पूर्वाधारहरूको निर्माणलाई प्रोत्साहित गर्नु जनहितका लागि सरकारको सकारात्मक कदम ठहरिनेछ ।
आज खेलकुद विकासोन्मुख र विकसित मुलुकहरूको सामाजिक–आर्थिक विकासका निम्ति समान रूपले एउटा महŒवपूर्ण साधन बन्न पुगेको छ । पर्यटन बढाउनका लागिदेखि लिएर मित्रराष्ट्रहरूसँग समझदारी र मित्रता बढाउन, खेलाडीहरूको आत्मसम्मान र मनोबल बढाउन बेरोजगारहरूका लागि अवसर सिर्जना गर्न, व्यापार वाणिज्य तथा मुलुकको कूटनीतिलाई बलियो तुल्याउन तथा मुलुकको अन्तर्राष्ट्रिय छविलाई अझै उच्चतम र अग्लो बनाउन खेलकुदले अदृश्य रूपमा सघाइरहेको हुन्छ । हरेक व्यक्ति, परिवार, समाज, समुदाय र मुलुकले अनुशासन, गतिशीलता र धैर्यताको अनुसरण गर्दै लाभान्वित हुन सक्छन् । यसरी समाजमा प्रेम, सद्भाव, शालिनता र पारस्पारिक सहयोग र समन्वय बढ्दै जाने तथ्य निर्विवाद छ ।
राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापकीय संरचनामा पनि बदलाव ल्याउन जरुरी भएको कुरा धेरैजसो खेलकुदप्रेमीहरूको भनाइ छ । परिषद् गठनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई मेडल जितेका खेलाडीहरूलाई र विज्ञ खेलाडीहरूलाइ प्राथमिकता दिइनुपर्छ । परिषद्ले पारदर्शी रूपमा वार्षिक योजना, स्रोतको पहिचान र कार्यान्वयनका पक्षलाई चरणबद्ध रूपमा तर्जुमा गर्नुपर्छ, जुन केही हदसम्म भइरहेको छ तर सम्भवत: बढ्दो क्रमभंगताले कार्य सुचारु हुन सकिरहेको छैन । नेपाली खेलकुदको विदेशमा ठूलो इज्जत छ । हाम्रा युवा खेलाडीहरूले आफ्नो सीप तथा कलाकौशलताको प्रदर्शनी गरेर अनेकौँ पारितोषिक र प्रशंसा पाउँदै आइरहेको जगजाहरै छ । समय बित्दै जाँदा ती उत्साही खेलाडीहरू बिस्तारै ओझेलमा पर्दै जानु दुर्भाग्यको कुरा हो । त्यस्ता खेलाडीहरू समाजका अलंकार हुन् । उनीहरूको प्रतिभाको कदरस्वरूप ठूल्ठूला व्यापारिक घरानाहरूले उनीहरूका लागि विशेष व्यवस्था गरिदिनुपर्छ र यसको पहल राष्ट्रिय खेलकुद परिषद्बाट गरिनु वाञ्छनीय छ ।