उदिपुर पहिरोमा अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरिने

डुम्रे–बेसीसहर सडकअन्तर्गत लमजुङको उदिपुर पहिरोमा अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गर्ने तयारी भएको छ । पहिरोका कारण वैकल्पिक सडक प्रयोग गर्दा यातायात सेवामा सास्ती भएको भन्दै सोही ठाउँमा अस्थायी व्यवस्थापन गरी सडक सुचारु गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङको अगुवाइमा डुम्रे–बेसीसहर–चामे सडक योजना र बेसीसहर नगरपालिकाको सहकार्यमा पहिरोमा अस्थायी व्यवस्थापन गरी साविककै सडकमा यातायात सञ्चालन गर्ने तयारी गरीएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । हाल प्रयोग भइरहेको वैकल्पिक सडकमा यातायात सहज नभएको र आसन्न निर्वाचनमा सवारी चाप बढी हुने भएकाले पनि सोही सडकमा अस्थायी व्यवस्थापन गर्न लागिएको प्रजिअ वैद्यको भनाइ छ ।
प्रजिअ वैद्यका अनुसार उदिपुर पहिरोमा कम्तीमा वर्षा अघिसम्म यातायात सञ्चालन हुने गरी अस्थायी सडकको व्यवस्थापन गर्ने तयारी भएको छ । सडक व्यवस्थापनका निम्ति डुम्रे–बेसीसहर–चामे सडक योजनाले प्राविधिक तयारी गने भएको छ । अस्थायी सडक व्यवस्थानका निम्ति विद्युत प्राधिकरणले पुराना विद्युत पोलहरू दिने भएको प्रजिअ वैद्यले बताए । केही दिनबाट प्राविधिक परिक्षण गरी काम सुरु गर्ने र निर्वाचनअघि नै पुरानो सडक प्रयोगमा आउने तयारी गरिएको प्रजिअ वैद्यको भनाइ छ ।
उदिपुर पहिरोका कारण हाल वैकल्पिक सडकको रूपमा नेपाली सेनाको व्यारेकभित्रबाट सवारी आवागमन हुँदै आएको छ । यसअघि वैकल्पिक सडकको रूपमा उदिपुर रिट्ठेबगर हुँदै मध्यमस्र्याङ्दीको बाँधलाई मोटरेबल पुलको रूपमा प्रयोग गर्ने प्रस्ताव गरे पनि सम्बन्धित निकायले अस्वीकार गरेको थियो । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको बाँध सवारीसाधन आवतजावतका निम्ति प्राविधिक तवरले उपयुक्त नभएको भन्दै यातायात सञ्चालनका निम्ति अनुमति नदिएको हो ।
सोबाहेक वैकल्पिक सडक व्यवस्थापनका निम्ति बेसीसहर–११, चितीको बरबोट हुँदै बेसीसहर–१० बाँझाखेततर्फको सडक प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको थियो । जिल्लास्थित राजनीतिक दल एवं अन्य सरोकारवाला निकायसँग छलफल गरी निकास दिने तयारी गरे पनि काम सुरु हुन सकेको छैन ।
उदिपुरमा पहिरोले सडक भत्किएसँंगै गत वर्षदेखि नै यात्रुहरूले सास्ती पाएका छन् । वैकल्पिक सडक प्रयोगमा आए पनि जीर्ण सडकका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ । पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ ।
उदिपुर पहिरोका कारण अवरुद्ध उदिपुर खण्ड तत्काल निर्माण नहुने डुम्रे बेसीसहर चामे सडक योजनाले जनाएको छ । गत वर्षदेखि नै पहिरोले भास्सिएको सडक दीर्घकालीन टिकाउ हुने गरी निर्माण गर्नका लागि कम्तीमा पनि दुई वर्ष लाग्ने कार्यालयले जनाएको छ ।