Logo

कुनै पनि व्यक्तिले अन्य व्यक्तिहरूसँग गर्ने आचरण र व्यवहारले त्यो व्यक्तिको नेतृत्वदायी क्षमतालाई प्रस्ट रूपमा झल्काएको हुन्छ ।

नेतृत्व विकासका सीपहरू : किन र कसरी ?

कुनै पनि समाज वा राष्ट्र सफल वा समृद्ध हुन एउटा प्रभावकारी नेतृत्वको आवश्यकता पर्छ । यो नेतृत्व भन्ने शब्द अत्यन्तै गहन र गम्भीर शब्द हो, यसको व्याख्या र विश्लेषण बेग्लाबेग्लै ढंगबाट भएको पाइन्छ । सफल नेतृत्वका लागि दूरदृष्टि, क्षमता, इमानदारिता तथा मौलिकताजस्ता गुणहरूको अपरिहार्यता हुने गर्छ । सफलतालाई आँकलन गर्ने हो भने एकै किसिमको नेतृत्व मात्र सफल नभई भिन्न–भिन्न किसिमको नेतृत्वहरू, जस्तै— लोकतान्त्रिक नेतृत्व, रणनीतिक नेतृत्व वा परिवर्तनकारी नेतृत्वलाई उदाहरणका रूपमा हेर्न सकिन्छ । सफलताहरू समय, परिस्थिति, वातावरण, स्थानका आधारमा फरक–फरक तौरतरिका र ढंगबाट प्राप्त भएका देखिन्छन् । नेतृत्वलाई सैद्धान्तिक ढंगबाट भन्दा पनि व्यावहारिक ढंगबाट नेतृत्वका विभिन्न पक्षहरूको व्याख्या र विश्लेषण गर्ने हेतुले लेखकले आफूले पढेका, भोगेका र आफ्नो पेसागत जीवनबाट सँगालेका अनुभवका आधारमा केही महŒवपूर्ण तथ्य तथा सिकाइहरूलाई यस लेखमा समावेश गर्ने प्रयास गरिएको छ ।
समाजको एकाइ व्यक्ति हुन्छ र कुनै पनि व्यक्तिले जानाजान आफूले आफ्नो लागि नराम्रो परिणाम आउने कुनै पनि क्रियाकलाप गर्न चाहँदैनन् । अधिकांश मानिसले आफूलाई अझै राम्रो कसरी हुन्छ ? भनी सोच्ने गर्छन् र कतिपयले त्यसलाई कर्ममा परिणत गर्ने पनि गर्छन् । तर, यति हुँदाहुँदै पनि हाम्रो समाजमा कुनै व्यक्ति तुलनात्मक रूपमा धेरै सफल हुन्छन् भने कतिपय असफल हुने गर्छन् । हाम्रो जस्तो विकासोन्मुख देश र समाजमा धेरै मानिस सफल हुन सकिरहेका हुँदैनन् । यसको मूल कारणलाई मध्यनजर गर्ने हो भने प्रभावकारी नेतृत्वको कमी नै महŒवपूर्ण कारकको रूपमा देखिन्छ ।
संसारकै पाँचौं ठूलो अर्थतन्त्र भएको देश बेलायतको ५७ औं प्रधानमन्त्रीजस्तो अत्यन्तै ठूलो जिम्मेवारी भर्खर जम्मा ४२ वर्ष उमेर पुगेका भारतीय मूलका ब्रिटिस ऋषि सुनाकले पाएका छन् । अक्सफोर्ड तथा स्टेनफोर्डजस्ता संसारकै उत्कृष्ट युनिभर्सिटीबाट दर्शन, राजनीति र अर्थशास्त्रको अध्ययन पूरा गरेका उनले राजनीतिमा आउनुअघि बैंकमा काम गरेका थिए । आफ्नो पेसागत जीवन, व्यावसायिक जीवन र यसअघिका राजनीतिक जीवनमा पनि उत्कृष्ट नेतृत्वदायी भूमिका निर्वाह गरी सफल लिडरको रूपमा आफूलाई स्थापित गरेकै प्रतिफल आज उनी लामो समयदेखि गोराहरूले शासन गरेको देशमा पहिलो पटक गैह्रगोरा प्रधानमन्त्री बन्न सफल भएका छन् । कोरोनाको कारण सिर्जना भएको बन्दाबन्दीको समयमा नियम उल्लंघन गरेको अभियोगमा उनलाई जरिवानासमेत भएको थियो, तर सोही कठिन घडीमा नै उनले युकेको अर्थतन्त्रलाई स्थिर र दिगो बनाउन कर्मचारीहरूको रोजगार जोगाउन २ हजार ५ सय पाउन्ड वा ८० प्रतिशतसम्मको कामदारको लागत सरकारले बेहोर्ने नीति ल्याउन उनको महŒवपूर्ण भूमिका रहेकै कारण युकेको विगत २ सय वर्षको सबैभन्दा कान्छा प्रधानमन्त्री हुन सफल भएका हुन् । उनको जीवन र नेतृत्वशैलीबाट सिक्न र जान्न पर्ने कुराहरू अनगिन्ती छन् भने उनी प्रधानमन्त्री बनेपछिको मिडियामार्फत उनले दिएको प्रधानमन्त्री कार्यकालको पहिलो सम्बोधन कार्यक्रम झनै हेर्न र सुन्न लायक थियो, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।

नेतृत्वका आन्तरिक पक्षहरू
कुनै पनि व्यक्तिले अन्य व्यक्तिहरूसँग गर्ने आचरण र व्यवहारले त्यो व्यक्तिको नेतृत्वदायी क्षमतालाई प्रस्ट रूपमा झल्काएको हुन्छ । कुनै पनि व्यक्तिको भित्री पक्षहरूले उसको दृष्टिकोण, व्यवहार र उसका कार्यहरूलाई असर पारेको हुन्छ । त्यसैले व्यक्तिको भित्री पक्षहरूलाई सूक्ष्म रूपमा केलाउँदा उसले पाएको जिम्मेवारी अरूका लागि नभई मैले मेरो लागि गरिरहेको छु भन्ने भावनाले स्व:स्फूर्त गर्ने बानी बसाल्नुपर्छ । कुनै पनि काम वा जिम्मेवारी पूरा गर्दा अन्त्यमा त्यो कामको परिणाम कस्तो आउँछ भनी पहिले नै आकलन गर्न सक्नुपर्छ । साथै, कामलाई प्राथमिकीकरण गरी सबैभन्दा महŒवपूर्ण कामलाई सबैभन्दा पहिले गर्ने बानी बसाल्नुपर्छ । यी कुराहरूलाई ख्याल गर्ने हो भने कुनै पनि व्यक्तिलाई आफूले आफूलाई आन्तरिक रूपमा बलियो र क्षमतावान् बनाई आफ्नो नेतृत्वदायी भूमिकाको विकास गराउन सक्छन् । तर, यसले मात्र कुनै पनि व्यक्तिलाई कुशल लिडर बन्न पर्याप्त हुँदैन । कुनै पनि राम्रा निर्णय गर्न र योजना तर्जुमा गर्नका लागि शान्त हुन पनि जरुरी छ । जब मानिस शान्त हुन्छ, तब मानिसले अनगिन्ती विकल्पका बाटाहरू पहिल्याउन सक्छन् र राम्रो निर्णयका लागि उत्कृष्ट विकल्प रोज्न सकिन्छ । शारीरिक, मानसिक र भावनात्मक रूपमा मानिस स्वस्थ, स्फूर्त र शान्त रहनका लागि कुनै न कुनै व्यायाम तथा ध्यान गर्ने बानीको विकास गर्नु आवश्यक छ । साथै यसमा सन्तुलित भोजन हुन सकेमा कुनै पनि व्यक्ति स्वस्थ अर्थात् स्वयम्मा अवस्थित भएर आफ्नो भित्रको प्रचुर ऊर्जा तथा सम्भावनालाई सकारात्मक र प्रभावकारी ढंगबाट परिणाममुखी बनाउन सक्छ ।
आन्तरिक रूपमा जसरी कुनै संस्थाले आफ्नो व्यावसायिक यात्रा सुरु गर्दा भिजन मिसन तथा लक्ष्य तय गर्छ त्यसरी नै आफ्नो बाल्यकाल सकिसकेपछि एउटा व्यक्तिले पनि आफ्नो जीवनको भिजन मिसन र त्यसलाई प्राप्त गर्न हासिल गर्नुपर्ने लक्ष्यलाई आफ्नो मानसपटलमा राख्न सक्यो भने यसले सो व्यक्तिको नेतृत्व विकासमा ठूलो टेवा दिन सक्छ ।

नेतृत्वका बाह्य पक्षहरू
नेतृत्वको बाहिरी पक्षलाई हेर्ने हो भने कुनै पनि नेतृत्वकर्ता व्यक्तिको सोचअनुसारको व्यवहार र प्रस्तुतिले ठूलो भूमिका खेलेको हुन्छ । आजको यस प्रतिस्पर्धी समयमा अधिकांश व्यक्तिले सबैभन्दा प्राथमिकतामा आफूलाई राखी आफ्नो हितका क्रियाकलाप र व्यवहार गरिरहेका हुन्छन् । एक असल नेतृत्वकर्ताले चुनौतीमा आफू अघि सर्ने र अवसरमा अरूलाई अघि सार्ने बानीको विकास गर्नुपर्छ । सामूहिक हितको अवधारणलाई मध्यनजर गर्दै हरेक अवसरलाई आफ्नो टिमका हरेका सदस्यलाई समान रूपमा विभाजन गर्ने व्यवहारको विकास गर्नुपर्छ । सामूहिक हितका साझा लक्ष्य प्राप्तिका लागि नेतृत्वकर्ताले समूहमा एकअर्काका विचार, कुरा सुन्ने र बुझ्ने बानीको विकास गर्नुपर्छ । टिममा काम गर्दा नेतृत्वकर्ताले आफ्नो मात्र कुरा राख्ने र बलजफ्ती कार्यान्वयन गर्न लगाउने बानीले गर्दा टिममा असमझदारी बढ्न जान्छ र एकआपसमा सहयोगको भावना हट्न जाने भएकाले नेतृत्वकर्ताले अरूको कुरा सुन्ने र राम्रो कुरालाई कार्यान्वयन गर्ने बानीको विकास गर्नुपर्छ । सामूहिक कार्यमा विचारको विविधता आउने गर्छ, असमझदारी र असहमति पनि हुन सक्छन्, विचारका विविधतालाई पनि योजनाबद्ध तवरले तालमेल मिलाएर वैकल्पिक उपायहरू अवलम्बन गरी उत्कृष्ट तवरले समाधान खोज्न सक्ने हो भने अझै राम्रो परिणाम आउन सक्छ ।
एक असल नेतृत्वकर्ताले आफूलाई सबल र बलियो बनाई आफ्नो टिम र संस्थालाई समेत बलियो बनाउन सक्छ; अर्थात् एक सफल नेताले प्रणालीलाई राम्रो बनाई अनुयायी होइन, अर्को सफल नेतृत्वकर्ता नै निर्माण गर्न सक्छ । दिगो र सफल नेतृत्वका लागि नेतृत्वकर्ताको सोच, विचार, बोली, व्यवहार र कर्ममा एकरूपता हुन अत्यन्तै आवश्यक हुन्छ । काम गर्दा सधैं सफल भइन्छ भन्ने पनि हुन्न, ती असफलताबाट पाठ सिक्दै आफ्ना कमी–कमजोरीलाई स्वीकार गरी त्यसलाई सच्याउने हिम्मत पनि एक कुशल नेतृत्वकर्तामा हुन जरुरी हुन्छ । त्यसैले एकलौटी नभई सबैलाई समेटेर अगाडि बढ्ने बानी एउटा सफल नेतृत्वको चिनारीको रूपमा देख्न पाइन्छ ।
अन्त्यमा, अध्ययन तथा विश्लेषणका लागि उपलब्ध हुने नेतृत्वशैलीका प्रकारलाई विचार गर्दा समाजमा निम्न किसिमका नेतृत्वको साक्षी हुने अवसर प्राप्त हुन सक्छ—
१. पदका कारण नेतृत्व : हाम्रो समाजमा धेरैजसो नेतृत्वशैली संस्थागत पदका कारण नेतृत्वकर्ताले भनेका सुन्नुपर्ने, कार्य गर्नका लागि बाध्य बनाइने र उसको पदको कारण बाध्यात्मक रूपमा उसको अनुयायी हुनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । यो नेतृत्वकर्ताको गुण नभई पदको दम्भ मात्र हो, जुन नेतृत्व दिगो र सबल हुन सक्दैन ।
२. कार्यका कारण नेतृत्व : अर्को श्रेणीको नेतृत्वमा बाध्यात्मक नभई नेतृत्वले संस्था, समाज वा देशलाई गरेको कुनै महŒवपूर्ण कार्यका कारण अनुयायी हुने गर्छन् ।
३. उत्कृष्ट कार्य तथा अरूको जीवनमा पार्ने सकारात्मक प्रभावका कारण नेतृत्व : अझ उच्च श्रेणीको नेतृत्वशैलीमा नेतृत्वकर्ताले समग्र समाज वा देशका लागि गरेको अतुलनीय योगदानका कारण सो व्यक्तिलाई लिडर वा नेता मान्ने गर्छन् र उनीहरूको अनुयायी हुने गर्छन् ।
४. उत्कृष्ट कर्म, सकारात्मक प्रभाव र अभूतपूर्व गुणहरूका कारण नेतृत्व : सबैभन्दा शिखरमा उपलब्ध हुने नेतृत्वमा नेतृत्वकर्ताले माथि तेस्रो नं.मा उल्लिखित योगदान र त्यसपछि सो नेतृत्वकर्तामा निहित कुनै अभूतपूर्व गुणहरूका कारण मानवजातिले मात्र नभई समग्र प्रजाति तथा अस्तित्वले अनुग्रहित भएर प्रदान गर्ने सम्मान पर्छ ।
उल्लिखित चौथो बुँदामा उल्लेख गरिएको नेतृत्वकर्ता विश्व जगत्मै अत्यन्तै दुलर्भ हुने हुँदा लामो समयको अन्तरालमा मात्रै यस्तो नेतृत्वशैली भएका व्यक्तिहरूको साक्षी हुन पाइन्छ । उदाहरणको रूपमा बुद्धत्व प्राप्त गरेका व्यक्तिहरू जसले मानवजातिका समग्र विकास र सकारात्मक परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेका हुन्छन् ।
यसरी कुनै व्यावसायिक संस्थाको उच्च पदमा वा राज्यको कुनै निकायको उच्च ओहदा र महŒवपूर्ण भूमिकामा रहेका व्यक्तिले माथि उल्लेख गरिएको पहिलो बुँदाको नेतृत्वशैलीमा मात्रै सीमित भई आफ्नो निहित स्वार्थ पूर्तिका लागि मात्र काम गर्‍यो भने त्यस व्यक्तिले अवश्य पनि दिगो खुसी र सन्तुष्टि पाउन सक्दैन । यदि कुनै व्यक्तिले माथि उल्लेख गरिएका तेस्रो र चौथो बुँदाअनुसारको नेतृत्वशैलीमा कार्य गर्ने हो भने तब मात्र जीवनको सार्थकता प्रमाणित हुनेछ । हुन त विचार वा कुरा गर्न र त्यसको कार्यान्वयन गर्नु फरक पाटो हुन्, तर आशा गरौं हाम्रो समाज र देशमा पनि अथाह सम्भावना भएका व्यक्तिहरू छन्, उनीहरूमा माथि बुँदामा उल्लेख गरिएका जस्तो सकारात्मक रूपले जीवन र समाजलाई प्रभावकारी ढंगले विकासरूपी रूपान्तरण गर्ने नेतृत्वको उदय छिटै होस्, हाम्रो देश पनि समृद्ध बनोस् र हामी आमनेपाली सुखी जीवन जिउन पाऊँ । हाम्रो देशका कुशल नेतृत्वकर्ताको कथा ब्रह्माण्डभरि फैलियोस् ।
(पोखरेल मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यहाँ व्यक्त विचार लेखकका निजी विचार हुन् ।)

प्रतिक्रिया दिनुहोस्