ठूलो एकादशीको महिमा

नेपालीहरूको महान् पर्व दसैं, तिहार, छठको समाप्तिसँगै हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह आउँछ । यो पर्वमा हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठलाई सिँगारपटार गरी तुलसीको विवाह गरिदिने प्रचलन रहिआएको छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष आज कात्तिक १८ गते परेको छ । हरिबोधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि हुनुपर्छ, आममानिसको जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने चलन चलिआएको छ । अन्य एकादशीको तुलनामा यस एकादशीको महिमा विशेष रहेको हुँदा पनि यसलाई ठूलो एकादशी भनिएको हो । हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका भगवान् विष्णु यसै दिन उठ्ने जनविश्वास भएकाले पनि यस दिनको एकादशीलाई विशेष रूपमा मानिन्छ ।
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता रहेको छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रूपमा मनाउने गरिन्छ । हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् विष्णुको पूजाआजा गरी मनाउने यस पर्वका दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान्स्वरूप मानिने वर र पीपलको पनि पूजा गरिने प्रचलन छ । वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महŒवपूर्ण तिथिका रूपमा मनाइन्छ । त्यसैले हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिएको हो । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासभर पूजा–आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशंखुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचंगुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गर्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यिनै धार्मिक विश्वासका कारण चार नारायणमा भक्तजनहरूको निकै भिड लाग्ने गर्छ । यस दिन ती नारायणको दर्शन गर्न टाढा–टाढादेखि श्रद्धालु भक्तजनहरू आउने गर्छन् । यसबाहेक देशभर रहेका विभिन्न नारायणका मन्दिरहरूमा पूजाअर्चना गरी हरिबोधनी एकादशी मनाइन्छ । यस्तै राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेर बस्ने गरेका छन् । मरोणोपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन छ । एकादशीका दिन घरघरमा भजन कीर्तन गरी जाग्राम बस्ने चलन समेत रहेको छ । नारायणको स्तुति गर्ने, नारायण भगवान्प्रति चित्त लगाउनाले मनमा शान्ति हुने जनविश्वास रहिआएको हुँदा यस दिनको ठूलो एकादशीलाई विशेष पर्वको रूपमा मनाइने प्रचलन रहिआएको छ ।
—मथुरा तिवारी