Logo

बैंकको ब्याज तिर्ने समय थप्न होटल संघको माग

होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार ज्ञापन पत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ ।
संघका अध्यक्ष सृजना राणाले कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएपनि सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नरहेको बताइन् ।
उनले यो वर्ष ६ लाख पर्यटक भित्र्याउने प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको बताइन् । सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा पर्यटक नेपाल आएपनि अहिले त्यो सम्भव नभएको संघको भनाइ छ ।
“हामी व्यवसायीको जटिल समस्या भनेकै बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता रहेको छ” अध्यक्ष राणाले भनिन्, “देशैभरका होटल व्यवसायी आन्दोलित भइरहेकाले यो उद्योगको संरक्षण गर्न आवश्यक छ ।”
कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधालाई निरन्तरता दिन संघले माग गरेको छ । हालको बढ्दो व्याजदर होटल उद्योगमा धान्नै नसकिने अवस्था रहेको संघले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई त्रसित नहुन आश्वासन दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थापन मार्फत सम्बोधन गर्ने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्