उम्मेदवारमाथि मतदाताका गुनासै–गुनासा

चुनाव लक्षित कार्यक्रम लिएर म्याग्दीका राजनीतिक दलका नेताहरु उम्मेदवारसँगै गाउँ–गाउँमा पसेका छन् । उम्मेदवारले जनतामाथि पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, ग्रामीण उद्योग, पर्यटन जलस्रोत, कृषि, रोजगार र सुशासनको नारासँगैको घोषणापत्र लिएर गाउँ पसेका छन् ।
उनीहरुको भेटघाट गाउँमा खेतीकिसानी, पशुपालन र ज्यालामजदुरीमा व्यस्त कृषकहरुसँग हुन्छ । हरेक पाँच वर्षमा गाउँ पसेका बजार केन्द्रित नेताहरु गाउँका जनताको समस्याकेन्द्रित घोषणपत्र भन्दा चुनावलक्षित एजेण्डा समेटिएको घोषणापत्र लिएर जनताको घरदैलोमा पुगेका छन् । “जनतालाई गाउँमा नै बसौं–बसौं लाग्ने वातावरण बनाउने योजना कहिल्य लिएर आउँछौँ,” मतदाताले उम्मेदवार माथि प्रश्न गरेका छन् । तर, उम्मेदवारले मतदातामाझ प्रष्ट विचार र योजना र आत्मविश्वास अझै बढाउन उनीहरुको घोषणापत्रले सकेको छैन । विगतमा जनप्रतिनिधिले जनतामाथि गरेका बाचा पूरा नगर्दा अहिलेका उम्मेदवारमाथि मतदाताले गुनासै गुनासाको पोको सुनाउने गरेका छन् । तर, कार्यकर्ता र जनतामाझ उम्मेदवारले आफ्नो स्पष्ट कामको योजनासहित सुनाउने भन्दा पनि प्रतिस्पर्धी उम्मेदवारलाई आरोप र भ्रमको विचार फैलाएर मतदाताबीच अन्तरद्धन्द्व सिर्जना गरेर मत लिने योजनामा केन्द्रित छन् ।
गाउँ–गाउँजस्तै बनाउने योजना उम्मेदवारले ल्याउनुपर्छ । गाउँमा ब्यवहारिक र सिपसहितको उच्च शिक्षा, प्रभावकारी आधारभूत स्वास्थ्य सेवा, उत्पादन भएका कृषि बजारको सुनिश्चित, कृषिमा सिँचाइ, स्वच्छ खानेपानी, ब्यवस्थित खेलमैदान, युवाहरुलाई रोजगारी, ब्यवस्थित सडक, पर्यटन पूर्वाधार र ग्राम उद्योग लगायतको विकास मतदातालाई आवश्यक छ । टुक्रे योजनाले ठेकेदार कार्यकर्तालाई बाहेक जनताको जीवनमा प्रत्यक्ष फाइदा पुग्न नसकेको विगतका जनप्रतिनिधिको कामले देखाउँछ । विकासमा हुने ढिलासुस्ती प्रवृतिलाई हटाउने भूमिका अहिले उम्मेदवारको मुख्य काम पनि देखिन्छ ।
मतदाताले गाउँमा प्रविधिमैत्री खेतीका लागि यान्त्रीकरण, खेतबारीमा यान्त्रीकरण हलो पुर्याउने सडक, पदमार्ग, रैथानीबालीलाई व्यावसायिक र उत्पादन बढाउने सिप र तालिम, सिचाई, उत्पादन गरेको बस्तुको बजारिकरणको व्यवस्था, ग्राम उद्योग, युवालाई गाउँमा रोजगारी सिर्जना हुने विकास निर्माणका गतिविधि, शिक्षा, स्वास्थ्यको गुणस्तर पूर्वाधार र दैनिक जीवनमा प्रयोग हुने ब्यवहारिक आधारभूत ज्ञान सिपकोे खोजीमा गाउँका जनता छन् । जनताको आधारभूत सेवा पूर्ति गर्ने योजना लिएर राजनीतिक दलका उम्मेदवार आउन नसकेको धारणा रघुगंगा– २ राखु भगवतीका युवा नविन कटुवालको थियो । “आम्दानी दिने स्रोतमा लगानीको अभाव हुँदा युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता दिनानुदिन बढिरहेको छ । युवाहरुको शैक्षिक प्रमाणपत्र सिप र ब्यवसायलाई बैंकले लगानी गर्ने वातावरण तयार छैन ।” यसमा उम्मेदवारको ध्यान नगएको केसीले गुनासो थियो । केसीका जस्तै गुनासा युवादेखि बृद्धबृद्धाका उस्तै छन् ।
सरकारी कानुन तथा नीतिनियमको प्रभावकारी कार्यान्वयन नहुँदा कालोबजारी, भष्ट्रचार दिनानुदिन बढेको छ । आधारभूत खाद्यान्नमा भएको मूल्य बृद्धिले जनताको दैनिकी महँगो बन्दै गएको छ । यस्तै गुनासो म्याग्दीका ६ वटै स्थानीय तहमा बसोबास गर्ने मतदाताको छ । “जनताको दैनिकी र जीवनसंग जोडिएका दिर्घकालिन योजना उम्मेदवारमा छैन,” उनले भने ।
बजारकेन्द्रित रहेका सरकारी कार्यालयमा सेवा लिने भन्दा बढी खर्च गरेर आउनुपर्ने बाध्यता गाउँका जनतालाई छ । राज्यका सेवासुविधा, अनुदान र विकास योजनाहरु वास्तविक कृषकको पक्षमा गर्ने योजना विगतका नेता र जनप्रतिनिधिको ध्यान खोई ? यस्तो समस्यालाई सामाधान गर्न केन्द्रित रहन उम्मेदवारलाई मतदाताले आग्रह गरेका छन् । सरकारी कार्यालयमा रहेका जनतालाई सेवा दिने कर्मचारी भन्दा कर्मचारीलाई सेवा गर्ने कर्मचारी बढी छन् । सांसदको रुपमा सिंहदरबार गएपछि जनताका गुनासाहरु सम्वोधन गर्न उम्मेदवारप्रति मतदाताको अपिल छ । म्याग्दीमा संघ र प्रदेशमा तीन जना सांसद पदको लागि १९ जनाको उम्मेदवारी परेको छ ।