पर्यटनको नाममा १३६८ मन्दिर बनाएर सकिँदै कार्यकाल «

पर्यटनको नाममा १३६८ मन्दिर बनाएर सकिँदै कार्यकाल

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पाँच वर्षको कार्याकालमा एक हजार तीन सय ६८ मन्दिर निर्माण गरेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाई (पर्यटन इकाई) को तथ्यांक अनुसार प्रदेशमा एक हजार ६३ वटा मन्दिर निर्माण भइसकेका छन् । चालु आर्थिक वर्षमा दुई सय ९५ वटा मन्दिर बनाउने योजना छ । चार वर्षमा प्रदेश सरकारले ति मन्दिर बनाउनका लागि झण्डै एक अर्ब रकम खर्च गरेको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २९३, ०७६/०७७ मा १४४, ०७७/०७८ मा ३२० र ०७८/०७९ मा ३०६ वटा मन्दिर निर्माण गरेको छ । चालू आर्थिक वर्षमा २९५ वटा मन्दिर बनाउनका लागि २३ करोड २१ लाख विनियोजन गरेको गरेको छ । धार्मिक पर्यटनको नामका बनाइएका यी मन्दिर पर्यटकीय स्तरका नभएर गाउँलेहरु पूजा गर्ने सामान्य खालका मन्दिर हुन् । पर्यटकीय महत्वका मन्दिरहरुमा प्रदेश सरकारले खासै बजेट खर्च गरेको देखिँदैन ।
प्रदेश सरकारको १० वर्षे पर्यटन गुरुयोजनाले धार्मिक पर्यटन गन्तव्य भनेर निर्धारण गरेको र नेपाल पर्यटन बोर्डले विकास गर्नुपर्ने पर्यटन गन्तव्य भनेर पहिचान गरेका सुदूरपश्चिमका प्रसिद्ध धार्मिक स्थलहरु खप्तड, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा, डोटीको शैलेश्वरी, बडिकेदार, अछामको वैधनाथ धाम, रामारोशनमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छैन । यी क्षेत्रमा पर्यटन विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख थियो ।
पर्यटन विकासका खप्तडमा ध्यान केन्द्र स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख थियो । “तर बजेट पर्न सकेन” उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले भने, “पर्यटन गुरु योजना बनाइएको भएपनि त्यसलाई कार्यान्वयन गरिन । आउँदो वर्ष गुरु योजना अनुसार बजेट पर्छ कि भन्ने आश छ ।”
धार्मिक पर्यटकीय स्थलको नाममा थुप्रै मन्दिर निर्माण गरिएको भएपनि सन्तुष्टी हुने गरी पर्यटन पूर्वाधार निर्माण हुन नसकेको मन्त्रालयका कर्मचारीले नै बताउँछन् । यस अवधिमा प्रदेश सरकारले धार्मिक पर्यटन पदमार्गको नाममा ती मन्दिर जाने मर्मत र स्तरोन्नती गरेको छ । पर्यटन इकाईले चार वर्षमा ११४ वटा धार्मिकस्थल जाने पदमार्ग निर्माण गरेको छ । चालु आर्थिक वर्षमा धार्मिक पदमार्ग निर्माणका लागि पाँच लाखदेखि १० लाखसम्मका विभिन्न टुक्रे योजना निर्माण गरिएको छ ।
विगत चार वर्षमा ३१ वटा धर्मशाला, अतिथि गृह, संग्राहलय निर्माण गरिएको पर्यटन इकाईले जनाएको छ । यसैगरि २७ वटा ऐतिहासिक कोट दरबारहरुको संरक्षण कार्य गरिएको पर्यटन इकाईले जनाएको छ । इकाईका पूर्वप्रमुख भोजराज पाठकले पर्यटन पूर्वाधार विकास गर्नुपर्नेमा इकाईले मन्दिर बनाउने, मन्दिरमा जाने बाटो बनाउने जस्ता काम गर्नमै व्यस्त भएको बताए । उनले पाँच वर्ष सिकाइको रुपमा बितेको बताउँदै आगामी दिनमा गुरुयोजना अनुसार वार्षिक योजना निर्माण गरी पर्यटन विकासको कार्य गर्नुपर्ने बताए ।
पर्यटन पुनरुत्थान समितिका संयोजक मायाप्रकाश भट्टले पर्यटन पूर्वाधार निर्माण गर्दा, पर्यटन सम्बन्धि योजना बनाउँदा र कार्यक्रम कार्यान्वयन गर्दा प्रदेश सरकारले निजी क्षेत्रसँग पनि समन्वय गर्न आवश्यक रहेको बताए । उनले जुनसुकै मन्दिरमा लगानी गर्नुभन्दा प्रदेशमा रहेका पर्यटकीय महत्वका मन्दिरमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने, ती ठूला मन्दिरमा आउने धार्मिक पर्यटकका लागि आवास लगायतका सुविधा व्यवस्थापन गर्ने योजना आवश्यक रहेको बताए । उनले सुदूरपश्चिममा भारतबाट धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना भएपनि सानातिना मन्दिर निर्माण गरेर भारतीय धार्मिक पर्यटकलाई भित्र्याउन नसकिने बताए ।
पर्यटन इकाईका प्रमुख कालीराम चौधरीले चालु आर्थिक वर्षका योजनाहरु कार्यान्वयनमा जाने क्रममा रहेको बताए । उनले आफू आउनु भन्दा पहिले नै वार्षिक योजना तयार भइसकेको हुनाले वार्षिक कार्यक्रममा बजेट छुट्याए अनुसार नै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले यस वर्ष पण्डौन सहजपुर गुरिल्ला ट्रेल निर्माणका लागि वातावरणीय अध्ययन र डीपीआर निर्माण गर्न बजेट विनियोजन भएको बताए । प्रमुख चौधरीले आउँदो वर्ष गुरुयोजनाले निर्माण गरेका पर्यटन गन्तव्यहरुमा बढि विनियोजन गरेर कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्