आन्तरिक खपत र निर्यात प्रवद्र्धन गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत आन्तरिक रूपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । साथै, आन्तरिक खपत गरी बढी भएको विद्युत भारत र बंगलादेश निर्यातका लागि समेत पूर्वाधार विस्तारमा प्राधिकरण जुटेको हो ।
विद्युत खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने तयारी सुरु गरेको छ । साथै, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारणलाइन पूर्वाधारको निर्माण गरिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको प्राधिकरणले जनाएको छ ।
टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ ।
टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए ।
“दीर्घकालीन रूपमा भारत र बंगलादेशतर्फ विद्युत निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज विन्दु नजिकपर्ने देखिएको छ, त्यसैले चार सय केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै सोही क्षमताको प्रसारणलाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।
घिसिङले यो लाइन अत्यावश्यक भएको र यसबाट उक्त क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने र भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने बताए । घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ ।
प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने छ ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्नसक्ने सम्भावित ठाउँको पहिचान गर्ने र आन्तरिक रूपमा खपत गरी बढी भएको विद्युत निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिने छ ।
प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसनको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सबस्टेसन भरपर्दो र विश्वसनीय विद्युत आपूर्तिका लागि महत्वपूर्ण भएकाले जतिसक्दो छिटो सम्पन्न गर्न आग्रह गरेको थियो ।