Logo

दुई महिनामा दुई खर्ब रेमिट्यान्स, २४७ शव

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीबाट एक खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिँदा करिब साढे तीन सय नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डकोे चालू आवको असोजसम्मको रिपोर्टअनुसार वैदेशिक रोजगारीका सिलसिलामा ३४७ नेपाली श्रमिकको मृत्यु भएको हो ।
गत आवको सोही अवधिको तुलनामा रोजगारीका क्रमका रहेका श्रमिकको मृत्यु संख्या भने घटेको छ । गत आवको पहिलो दुई महिनामा ३७३ जना श्रमिकको विदेशी भूमिमा मृत्यु भएको थियो । यो संख्या श्रमस्वीकृति लिएर गएका श्रमिकको हो । बोर्डले श्रमस्वीकृति लिएर गएका श्रमिकलाई मात्र आर्थिक सहयोग गर्ने गरेका कारण श्रमस्वीकृति नलिएका मृतक श्रमिकको संख्या जोड्ने हो भने अझ बढी हुने अनुमान छ । वैदेशिक रोजगार बोर्डका अधिकृत शोभाकर भण्डारीले विदेशमा मृत्यु हुने नेपाली श्रमिकको वार्षिक संख्या बढ्दै गइरहेको बताए । “श्रमिकको मृत्यु संख्या बढेसँगै उनीहरुलाई सरकारले उपलब्ध गराउँदै आएको आर्थिक सहायता रकम समेत बढेको छ,” उनले कारोबारसँग भने, “पछिल्लो समय तोकिएको म्यादभन्दा पछि आर्थिक सहायताको निवेदन दिनेलाई समेत २५ हजार सहयोग गर्ने गरेका कारण मृतक परिवार सहायता रकमको दायित्व बढेको छ ।”
सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता दिँदै आएको छ । बोर्डले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा कम मृत्युदर यूएईमा ०.२१ प्रतिशत, कतारमा ०.२४ प्रतिशत, साउदी अरबमा ०.३९ प्रतिशत र सबैभन्दा बढी मलेसियामा ०.८३ प्रतिशत रहेको छ । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने परिवारको संख्या बढ्दै गइरहेको बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बोर्डले गत वर्षदेखि कोभिड–१९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग पनि गर्दै आएको छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्च समेत वृद्धि हँुदै आएको हो । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राहीको संख्या बढेर सहयोग रकम पनि बढेको हो । यसैगरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रमस्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि ७ लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या वृद्धि भएको बोर्डको भनाइ छ ।
मासिक रुपमा मृतक संख्या तल–माथि हुने भए पनि वार्षिक मृत्युदर भने बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तले बोर्डबाट ७ लाख रुपैयाँको दरले आर्थिक सहायता लिकोमा सो संख्या आव २०७७/०७८ मा वृद्धि भएर १ हजार २४२ पुगेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा विदेशमा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई कल्याणकारी कोषबाट ४१ करोड ८४ लाख रुपैयाँ आर्थिक सहयोग दिइएकोमा अघिल्लो वर्ष यो रकम वृद्धि भएर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको बोर्डले जनाएको छ ।
पछिल्लो समय विदेशमा मृत्यु हुनेको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाह समेत बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको पछिल्लो प्रतिवदनअनुसार आवको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । विगत ३ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रमस्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्