हवाई भाडा बढ्यो, भोलिदेखि लागू हुने

हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाउने भएका छन् । सोमबारबाट लागू हुने गरी शुक्रबारनै निर्णय गरेको नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) ले जनाएको छ ।
नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुराएपछि हवाई भाडा बढाउने निर्णय शुक्रबारनै गरिएको हो । आयोनले हवाई भाडा बढाउने निर्णय गर्दै नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमालाई सिफारिस गरेका छन् ।
प्राधिकरणले आइतबार सदर गरेमा सोमबारदेखि हवाई भाडा बढ्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । एक महिनाअघि भएको पनि हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको थियो ।
उक्त समयमा भाडावृद्धि नगरे पनि यसपटक पनि ५ रुपैयाँ बढेकाले दुवैलाई समेटेर इन्धन सहचार्ज शुल्क वृद्धि गर्न लागेको प्रवक्ता आचार्यले जानकारी दिए । संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक दूरीमा रहेको सिमरा जान ३ हजार १ सय २५ रुपैयाँ र टाढा दूरीको धनगढी जान १२ हजार ६ सय ७५ रुपैयाँ तिर्नुपर्छ । सिमराका लागि ७५ रुपैयाँ र धनगढीका लागि ३ सय ५५ रुपैयाँ भाडा बढेको छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको आयोनले जनाएको छ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ सय ७५, पोखरालाई १ सय २५, भैरहवालाई १ सय ६५, विराटनगरलाई १ सय ९०, भद्रपुरलाई २ सय ४०, भरतपुरलाई ८५, नेपालगन्जलाई २ सय ६०, जनकपुरलाई १ सय ५ र तुम्लिङटारलाई १ सय ४५ रुपैयाँ बढी तिर्नुपर्नेछ ।
आयोनले गत मंसिर २६ गते हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २ सय २० रुपैयाँसम्म वृद्धि गरेका थिए । त्यति बेला आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसपछि निगमले पुस १८ मा हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरे पनि वायुसेवा कम्पनीले भाडा बढाएका थिएनन् ।
सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो ।