भूमिगत पार्किङमा चल्यो डोजर

पोखरा महानगरपालिकाले प्रयोजनविपरीत सञ्चालनमा आएका भूमिगत पार्किङमा डोजर चलाएको छ । पोखरा महानगरपालिकाले पटकपटक भूमिगत पार्किङमा प्रयोजनविपरीत सञ्चालनमा आएका संरचना हटाउन अनुरोध गर्दा अटेरी गरेकाले महानगरले हटाउन सुरु गरेको हो ।
अधिकांशले महानगरपालिकाको अनुरोधबमोजिम पार्किङ खालि गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनमा महानगरपालिकाले मंगलबार डोजर नै चलाएको पोखराका मेयर धनराज आचार्यले बताए । पोखराको चिप्लेढुंगास्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्रपुलस्थित गरिमा विकास बैंक रहेको भवनलगायत स्थानमा महानगरपालिकाले डोजर चलाएको महानगरले जनाएको छ । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको मेयर आचार्यले जनाए ।
यसअघि भूमिगत पार्किङसहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनरूले ती पार्किङलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले हटाउन अनुरोध गरेको थियो । “महानगरपालिकाको निर्णय कार्यान्वयन गर्नका लागि हामी दिनरात खटिरहेका छौं, नयाँ स्थानमा हामीले निर्माणको काम गरिरहेका छौं, यता सामानहरू प्याक गरिरहेका छौं,” विगबजारका एक जना सञ्चालकले भने, “ठूलो व्यवसाय भएका कारण केही समय त लाग्दो नै रहेछ ।” उनले राज्यको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको प्रतिबद्धतासमेत जनाए ।
महेन्द्रपुलस्थित सञ्चालनमा रहेको गरिमा विकास बैंकको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खालि गर्न महानगरपालिकाका प्रमुख आचार्यले निर्देशन दिएका छन् । पोखराको महेन्द्रपुल चोकमै रहेको हुलाक निर्देशनालयको कम्पाउन्डसमेत एक साताभित्र नहटाए महानगरपालिका आफैले हटाउने जनाएको छ । महेन्द्रपुलस्थित सिताभवन र मोबाइल टावरको बेसमेन्टसमेत खाली भइसकेको छ । पोखराको लेकसाइड क्षेत्रका व्यवसायीले भने आफ्ना बेसमेन्टलाई पार्किङकै रूपमा प्रयोग गरिरहेका छन् ।
महेन्द्रपुलदेखि सिद्धार्थ चोकसम्म रहेका भूमिगत पार्किङलाई दुई पांग्र्रे र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङको रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले जनाए । पोखरा महानगरपालिका क्षेत्रभित्र २ सय ५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङसहितका भवन निर्माण गरिएका छन् । ती पार्किङलाई पार्किङकै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने मेयर आचार्यले विश्वास व्यक्त गरे ।