Logo

भारतले दियो निर्वाचनका लागि दुई सय सवारीसाधन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहका बीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरानमा प्रयोग गरिने छ । जसमध्ये १ सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ । यी सवारी साधनले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानीलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउ पुर्‍याउनेछ ।
अर्थमन्त्री शर्माले यी सवारी साधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए । नेपाल सरकारको अनुरोधमा विगतका वर्षमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै दुई हजारवटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सयवटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा दुई हजार चार सभन्दा बढी सवारीसाधन उपहार स्वरुप प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्