ठूला पूर्वाधार निर्माणमा सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मंगलबार बिहान शिष्टाचार भेट भएको छ ।
भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे । “अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आएको छ” उनले भने, “महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उनले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए ।
युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्दै उनले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह गरे ।
राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । मन्त्री शर्माले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए । “नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ”, उनले भने ।