मस्र्याङदी नदिमा छोटो दूरीको व्यावसायिक र्याफटिङ

जलयात्राका लागि विश्वकै उत्कृष्ट मानिएको मस्र्याङदी नदिमा छोटो दूरीको व्यावसायिक र्याफ्टिङ सुरु भएको छ । लमजुङको राईनास नगरपालिका अन्तर्गत तार्कुघाटदेखि राईनास–७ अन्तर्गत विरौटासम्म पाँच किलोमिटरको व्यावसायिक जलयात्रा सुरु भएको हो ।
राईनासको गरमबेसीमा सञ्चालन हुँदै आएको र्यापिड रिसोर्ट प्रालिले र्यापिड र्याफटिङ कम्पनी दर्ता गरी व्यावसायिक जलयात्रा सुरु गरेको हो । गत बैसाखदेखि सञ्चालन भएको रिसोर्टले मस्र्याङदी नदिको जलयात्रा सम्भाव्यतालाई प्रवद्र्धन गर्दै व्यावसायिक र्याफटिङ थालिएको गरेको सञ्चालक सुरेन्द्र नखोलाले जानकारी दिए ।
व्यावसायिक जलयात्रा थालेसँगै पछिल्लो समय दैनिक तथा साप्ताहिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नखोलाले बताए । विशेषगरी जलयात्रामा रुची भएका आन्तरिक पर्यटक र काठमाडौं, चितवन तथा पोखरामा रहेका पर्यटन व्यवसायीसँग समन्वय गरी बाह्य पर्यटकहरु आउने गरेको सञ्चालक नखोलाको भनाइ छ ।
जलयात्राको लागि न्युनतम शुल्क निर्धारण गरीएको सञ्चालकले बताएका छन् । “समुहगत रुपमा खानासहितको प्याकेज बनाएका छौं” सञ्चालक नखोलाले भने, “हामीले पनि व्यावसायिक गाइडहरु हायर गर्नुपर्छ, अहिलेको न्युनतम शुल्क प्रवद्र्धनका लागि जस्तै हो ।”
व्यवसाय सुरु गरेसँगै स्थानीय युवाहरुलाई तालिम दिएर रोजगारी दिने तयारीसमेत गरेको सञ्चालकको भनाइ छ । नखोलाले भने, “हामीले केही युवालाई व्यवासायिक गाइडका लागि तालिमसमेत दिने तयारी गरेका छौँ ।”
मस्र्याङदी नदिमा जलयात्रा छोटो भएपनि निकै रोमाञ्चक भएको अनुभवीहरु बताउँछन् । मस्र्याङदी नदीमा सञ्चालनमा ल्याइएको र्याफटिङ छोटो दूरीको भएपनि धेरैको आकर्षणको विषय बनेकाले यसले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सक्ने पर्यटन व्यवसायीहरुको अनुमान छ ।
छोटो दूरीको र्याफ्टिङ सञ्चालन गर्नसके जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सरोकारवालाको भनाइ छ । जिल्लामा धेरै पर्यटकीय गन्तव्य रहेको मस्र्याङदी नदिमा हुने जलयात्राले थप पर्यटक आकर्षण गर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
नेपालमा आएका पर्यटक मध्ये ७० प्रतिशत पर्यटकहरु ग्रामीण पर्यटक हुने अनुमान गरिएको छ । त्यसमा पनि अधिकांश पर्यटकहरु प्राकृतिक सुन्दरता हेर्न रुचाउँछन् । प्राकृतिक सुन्दरता रुचाउने पर्यटकका लागि र्याफटिङ पर्यटन आकर्षण गर्ने श्रोत बन्न सक्ने पर्यटन व्यवसायीहरुको धारणा छ ।
विश्वकै उत्कृष्ट मध्येमा पर्ने मस्र्याङदी नदिको जलयात्रा पछिल्लो समय विस्थापित जस्तै भएको छ । नदिमा निर्माण भएका विभिन्न जलविद्युत आयोजनाका कारण मस्र्याङदी नदिमा लामो दूरीको राफ्टिङ तथा कायाकिङ प्रभावित भएको हो । दुई दशक अघिसम्म मस्र्याङ्दीको र्याफटिङ् लमजुङको भुलभुलेबाट सुरु भएर चितवनको नारायणगढ पुगेपछि टुंगिन्थ्यो । भुलभुलेदेखि नारायणगढसम्मको र्याफटिङ्मा पाँच दिन लाथ्यो ।
तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण भएपछि तीन दिनमा छोटिएको जलयात्रा लमजुङको उदीपुरमा मध्य मस्र्याङ्दी जलविद्युत आयोजना बनेपछि यात्रा झनै छोटिएको थियो । जलविद्युत आयोजनाको बाँधकै कारण र्याफ्टिङ तथा कायाकिङमा समस्या हुन थालेपछि जलयात्रीको आगमन पनि कम हुँदै गएको हो ।
नेपाल एसोसिएसन अफ र्याफटिङ् एजेन्ट्स (नारा)का अनुसार नेपालमा र्याफटिङ २०२७ सालदेखि सुरु भएर ०३२ सालबाट व्यावायिक रुप पाएको हो । नेपाल भित्रने कुल पर्यटकमध्ये १५ प्रतिशतले र्याफटिङ् जाने नाराको अनुमान छ । तर, ०५६ सालदेखि नेपाल सरकारले र्याफटिङ्का लागि अनुमति लिनुपर्ने प्रावधान हटाएपछि यसको लेखाजोखा पनि हराएको छ ।