Logo

विद्युतीय पोल प्रयोगमा शर्तैैशर्त

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केबल सञ्चालकहरुबीचको विवाद फेरि बढ्ने देखिएको छ । प्राधिकरणले विद्युत पोलमा जथाभावी राखिएका केबल हटाउन ४५ दिने समयसीमा दिँदै नयाँ मापदण्ड समेत सार्वजनिक गरेको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अप्टिकल फाइबर–केबल र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । यस्तै, ४०० भोल्टको नांगो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश: ८० र ३० सेन्टिमिटर हुनुपर्ने जनाएको छ भने ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
प्राधिकरणले चार सय भोल्टका उपकरणहरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने उल्लेख गरेको छ । यस्तै, अप्टिकल फाइबर तथा केबल र जमिन सतहबीच पैदल मार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर मापदण्ड तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको सूचनामा जनाइएको छ । यस्तै, राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने उल्लेख छ ।
प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनुपर्ने प्राधिकरणले जनाएको छ । पोलहरुमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तार तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरुले सजिलोसँग तार छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने सूचनामा उल्लेख छ । यस्तै, पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नुपर्ने जनाइएको छ । सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने प्राधिकरणको भनाइ छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबल हटाउनुपर्ने जनाइएको छ ।
तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायकहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान निर्धारण गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । प्राधिकरणले दूरसञ्चार, केबल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको हो ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्ड्याइएका उपकरणहरुका कारण सहरलाई कुरुप बनाएको प्राधिकरणको भनाइ छ । आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको जनाइएको छ । आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको उपकार्यकारी निर्देशक सिलवालले बताए ।
प्राधिकरणले तोकिएको समयमा व्यवस्थापन गर्ने वा नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु आफैंले हटाउने भएको छ । “यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्नेछ,” उपकार्यकारी निर्देशक सिलवालले भने, “विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।”
इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले ल्याएको मापदण्डमा प्राविधिक समस्या रहेको बताउँदै विगत लामो समयदेखिको समस्या एकाएक समाधान गर्न नसकिने बताए । “हामीले क्षेत्रगत रुपमा तारहरु व्यवस्थापन गर्ने काम गर्दै आएका छौं, जसको उदाहरण ठमेललाई लिन सकिन्छ,” उनले भने । अन्य वडा कार्यालयको सहकार्यमा पनि काम भएको उनले बताए । यद्यपि यो समस्या समाधान हुनका लगि पूर्वाधार कम्पनीबिना सम्भव नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्