कर्णालीमा २४ सिटका लागि ११६ उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न लागेका हुन् ।
निर्वाचन आयोगको विवरण अनुसार कर्णाली प्रदेशभर सबैभन्दा बढी नेकपा एमालेबाट २४ जना चुनावी मैदानमा होमिएका छन् भने त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २१ जना, नेपाली कांग्रेसबाट १२ जना, नेपाल मजदुर किसान पार्टीबाट १२ जना र माओवादी केन्द्रबाट १० जना प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीबाट ६ जना, जनता समाजवादी पार्टीबाट ५ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट ३ जना र नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य सात पार्टीबाट ७ जना उम्मेदवार बनेका छन् ।
कुन जिल्लाबाट कति उम्मेदवार ?
प्रदेश सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशका जम्मा १ सय १६ उम्मेदवारमध्ये १६ जना स्वतन्त्र र ३ जना मात्रै महिला उम्मेदवार रहेका छन् । तीनै जना महिला उम्मेदवार नेमकिपाका हुन् । स्वतन्त्र उम्मेदवारी दिने १६ जना नै पुरुष रहेका छन् ।
निर्वाचन आयोगका अनुसार उक्त पार्टीबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२)मा लक्ष्मीकुमारी सिंह उम्मेदवार बनेकी छन् । यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा मनकली रामजाली र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (१)मा विजुकला राना मगरलाई नेमकिपाले महिला उम्मेदवारका रुपमा अघि सारेको छ । त्यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको जुम्लामा ८ जना उम्मेदवार उठेका छन् । भने,जाजरकोटको ७ जना रहेका छन् ।
त्यस्तै, सुर्खेत जिल्लामा रहेको ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी उम्मेदवार रहेका छन्। सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना चुनावी मैदानमा उत्रिएका छन् । उता सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने डोल्पामा ७ र मुगुमा ८ जना गरी कर्णाली प्रदेशका १० वटा जिल्लाबाट गरी १ सय १६ जना उम्मेदवार बनेका छन् ।