Logo

म्याग्दीमा भोट माग्दै गाउँ पसे उम्मेदवार

चार मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धामा म्याग्दीका राजनीतिक दल लागेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नेकपा एमालेबाट प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवार छन् । कांग्रेसका जिल्ला सभापति गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।
प्रदेशसभा क्षेत्र (क)मा एमालेका देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्छन् । भगवती प्रदेश (ख) मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ । प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली मुख्य प्रतिस्पर्धी छन् । यी उम्मेदवार भोट माग्दै जनताको घरदैलो र खेतबारीमा पुगेका छन् । जिल्लामा निरन्तरको विरासत जोगाउनेमा एमाले लागेको छ भने भत्काउने सत्ता गठबन्धन लागेका छन् ।
छ वटा स्थानीय तह रहेको जिल्लामा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।
राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्