समावेशी पर्व छठ र यसको अर्थतन्त्र

मानिसका सबै गतिविधि आर्थिक सामाजिक सम्बन्धमा आधारित हुन्छन् । अर्थतन्त्रको स्वरूप र त्यसका चालक शक्तिहरूको भूमिकाका आधारमा मानिसका गतिविधिहरू पनि परिवर्तन हुने गर्छ । खास खास समयमा परिवर्तन भइरहने गतिविधिले अर्थतन्त्रको उत्पादनसम्बन्धी गतिविधिलाई प्रभाव पारिरहेको हुन्छ । विश्वभरिका मानिसहरूले मनाउने चाडपर्व सबै अर्थतन्त्रको हिस्सा बन्न पुग्छ ।
मानिसले परिवर्तन भइरहने मौसमका आधारमा अपनाउने गतिविधि मानिसहरूको जीवनशैली बनिरहेको हुन्छ । कतिपय जीवनशैली सामयिक हुन्छ भने कतिपय जीवनशैली परिवर्तित सन्दर्भमा विकसित भई दोहेरिरहेको हुन्छ । यसै आधारमा दशैं, तिहार र छठजस्ता पर्व पनि अर्थतन्त्रको हिस्सा बन्न पुग्छ । यस्ता धार्मिक सांस्कृतिक पर्वहरूमा पनि समाज विकाससँगै शैलीगत परिवर्तन भइआएको पाइन्छ ।
आज (बिहीबार) उपत्यका लगायत तराई मधेशका विभिन्न भागमा सूर्यको पूजा अर्चना गरी मनाइने छठपर्व राजधानी काठमाडौंसहित तराई मधेशका विभिन्न ठाउँमा मनाइँदै छ ।छठ पर्व नेपाल, भारतको मिथिला र भोजपुरा क्षेत्रबाट विकसित हुँदै विश्वका विभिन्न देशमा मनाइने गरिएको पाइन्छ ।
नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, दक्षिण अफ्रिका, ट्रिनिडाड टोबागो गुएना, सुरिनाम, जमैका, अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया, न्युजील्यान्ड, मलेसिया, मकाउ, जापान र इन्डोनेसियामा पनि मनाउने गरिएको पाइएको छ । सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा यो पर्व गरेको भनिएको छ ।
यसैगरी रामायण कालमा पनि रामले लंका जितेपछि छठ पर्व सीताले गरेदेखि यसको विस्तार भएको कथन पनि रहेको छ । सूर्य पुराणमा पनि यसको उल्लेख छ । नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःखकष्टको निवारणको उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख छ ।
वैदिक धार्मिक सम्बन्धका आधारमा यसको जेजस्तो महत्व भए पनि यो कृषिमा आधारित समाजको विकास भएपछि सबै किसिमको कृषि उपजको प्रयोग गरी मनाउन थालिएको पर्वको रूपमा छठ पर्वको विकास भएको कतिपयको विश्वास छ । छठ पर्वमा पूजाका लागि संकलन गरिने सामग्रीहरूलाई हेर्दा यो सहजै पुष्टि हुन्छ । मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक पुस्तकका लेखक डा. राजेन्द्र विमलले छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भनेका छन् । सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।
यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् । पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलिमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ ।
पञ्चमी तिथिको बेलुका उपवास भंग गरेयता सप्तमी तिथिको प्रातःकालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गरिन्छ । षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातः काल उदाउँदो सूर्यको पुजा अर्चना गरि व्रत सम्पन्न गरिन्छ । व्रत सम्पन्न गरेपछि प्रसाद ग्रहण गरी नियमित भोजन खाने कार्यलाई परना भनिन्छ ।
यो पर्व मनाउन षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पु¥याउनुपर्ने विधान छ । यो संख्या पुग्यो वा पुगेन भने त्यसको ठाउँमा गम्हरी नामको चामल राखे पुग्ने पनि जनश्रुति विद्यमान छ । यसका आधारमा कुनै वस्तु कम भयो होला कि भनेर गम्हरीको चामल पनि राख्ने चलन छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।
बाँस र माटोका भाँडोहरूमा यी मिठाइसँगै विभिन्न प्रकारका फलफूल, बेसारको गाँठी, अदुवा, विभिन्न प्रकारका तरकारी, मूला, गाजरलगायतका वस्तु राखिन्छ । माटोको गाग्री, साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई राखिन्छ । गाग्रीलाई कुरूवार, ढकना सरवा भनिन्छ । बासको ढाकी, कनसुप्ती, कोनिया, नाङ्लोमा पनि यी वस्तुहरू राखिन्छ । यसरी हेर्दा मौसम अनुसार प्राप्त हुने प्रायःजसो सबै कृषि उपजको प्रयोग यस पर्वमा हुने गर्छ ।
ललितपुरको बाल दिक्षा स्कुलमा कार्यरत शिक्षक जनकपुरका सञ्जय कर्णले छठ पर्वको विस्तार विन्दुहरूको संयोजनबाट विशाल वृत्तको निर्माणजस्तै भइहेको बताए । उनले भने, “मानिसको जनसंख्या र यो पर्वप्रतिको आकर्षणले गर्दा नेपाल भारतमा मात्रै होइन, विश्वभरि फैलिन लागेको छ ।”
यसको धार्मिक सांस्कृतिक महत्व जेजस्तो भए पनि यसको आर्थिक पक्ष र पर्यावरण संरक्षणको दृष्टिले पनि विस्तार भईआएको उनको बुझाइ छ ।
वर्णव्यवस्थामा आधारित अर्थतन्त्र अहिले परिवर्तन भएर गएको छ । पहिला पहिला यो पर्वलाई सम्पन्न गर्न विभिन्न समुदायको सहयोग आवश्यक हुन्थ्यो । अनि उनीहरूले त्यो सहयोगबापत आर्थिक उपार्जन गर्न पाउँथे ।
उनी भन्छन्, “चोखो हुने दिन नाउको परिवारले आआफ्ना यजमान (ग्राहक)को कपाल दाडी काट्ने, नंग काट्ने गर्थे । मालीले फूल दिने गर्दथ्यो । डोमहरूले बाँसका सामग्री दिने गथ्र्यो, कुम्हालेले माटाका भाँडा दिने गथ्र्यो । यी सबैको साटो यजमानहरूबाट उनीहरूले धानजस्ता अन्नबाली पाउँथे ।”
समाजबाट वस्तु साटफेरको चलन हटेपछि उनीहरूले त्यही अनुसारको नगद पाउने गर्दथे । अहिले यो सबै परिवर्तन भई व्यापारको रूप लिएको छ । यसले चाडपर्वको अर्थतन्त्र निर्माण गरेको छ ।”
यो पर्वमा हुने खर्च ५ अर्बभन्दा बढी हुनसक्ने अर्थविद् डा. सुरेन्द्र लाभ बताउँछन् । उनले भने, “तराई मधेशको कुल जनसंख्याको एक चौथाई प्रत्यक्ष वा परोक्ष रूपमा यो पर्व मनाउँछन् । वैदिक कालमा यो आस्थाको आधारमा मनाउन चलन भए पनि अब यो देखासिकीले पनि मनाउन थालिएको छ । यसले अहिले अर्थतन्त्रलाई प्रभाव पार्छ ।”
यो पर्वमा सहभागी हुने सबैले व्रत बस्ने गरेको पाइँदैन । एकजना व्रतालुले आफूसमेत १० देखि २० व्यक्ति वा घरपरिवारको प्रसाद सूर्यलाई अर्पण गर्छन् । यसरी हेर्दा कम्तीमा २५ लाख मानिसको सहभागिता यो पर्वमा हुन्छ । औसत एक अर्घको मूल्य न्यूनतम ५०० रूपैयाँ मात्र राख्ने हो भने नेपालमा अहिले ५ अर्ब बराबरको खर्च हुन्छ ।
डा. लाभ यो खर्चबाट समुदायका विपन्न समुदायका लागि आमदानीको स्रोत बन्न पुग्नु राम्रो पक्ष भएको बताउँछन् । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ ।तर यसको दुर्बल पक्ष भनेको गरिबहरूलाई ऋणगरी पर्व मनाउन बाध्य पार्ने मनोवैज्ञानिक असर हो । आस्थाका आधारमा यसलाई मनाउनु राम्रो हो तर बाध्यता र परिबन्दमा परी मनाउने परिपाटी अर्थतन्त्रको अर्को पक्षबाट नराम्रो हुन सक्ने उनको तर्क छ ।
छठ पर्वमा गाइने परम्परागत गीतहरूको चलन पनि हराइरहेको छ । विभिन्न गायक गायिकाहरूले गाएका छठ पर्वका गीतहरूको एल्बमलाई डिजिटल डिभाइसमा बजाउने गरिन्छ । यसले छठ पर्व सूचना प्रविधिको विकाससँग जोडिएको छ ।यो पर्वको सम्बन्ध अब अनलाइन सपिङसँग पनि जोडिन पुगेको छ । ग्रामिण क्षेत्रमा बाँस र माटोको सामग्रीहरूको उपलब्धता सहजै हुन्छ । तर सहरहरूमा यसको उपलब्धताका लागि अनलाइन सपिङबाट सेवा उपलब्ध गराउने गरिएको छ ।
विभिन्न अनलाइन सपिङ कम्पनीहरूले चोखो परिकार बनाउन चाहिने चूलो, कोसिया कुरूबार, बाँसका डालाहरूको बिक्री भइरहेको जनाउ दिइरहेका छन् । अनलाइन सपिङले छठ पूजा सामग्रीहरूको सेवा दिन थाल्नुले यसको बढ्दो लोकप्रियतालाई सहजै अनुमान लगाउन सकिन्छ । यसले छठ पर्वलाई डिजिटल इकोनोमीमा जोड्न थालेको छ ।
चुनौती
छठ पर्व मनाउन आर्थिक स्रोतका अतिरिक्ति प्रमुख समस्या जलाधारको अभाव हो । यो पर्व नदी र तलाउमा मनाइने गरिन्छ । यो पर्वमा नदी र तलाउमा स्नान गर्नुपर्छ । नदी र तलाउको अभावमा व्रतालु परिवारलाई भारी बोकी टाढा जानुपर्ने बाध्यता छ । पानी भएका जलाशय सुक्न थालेका छन् । छठ पर्वका व्रतालुहरूलाई हुने गरेको जलाशय अभावको चुनौती सरकारकै चुनौती हो । जसलाई सरकारले समयमै ध्यान दिन पर्ने देखिन्छ ।
समावेशी पर्व
नेपालको मिथिला भोजपुरा क्षेत्रमा मुख्य रूपले मनाइने छठमा अब पहाड क्षेत्रका बासिन्दाहरूले पनि सहभागिता जनाउन थालेका छन् । हिन्दू धर्मालम्बी वा हिन्दू संस्कारबाट प्रेरित तराई मधेशमा बसोबास गर्ने पहाडे समुदायका मानिसहरूले छठ पर्व मनाउन थालेयता यसले दुई मुख्य समुदायबीचको धार्मिक सांस्कृतिक सम्बन्धको विस्तार गरेको छ । तराई मधेशका विभिन्न जाति समुदायले यो पर्व मनाउने गरेकाले यसलाई सबैको पर्वको रूपमा पनि लिने गरिएको छ ।
यो पर्व मनाउन तल्लो समुदाय भनिएकाहरूको सहयोग बिना सम्पन्न हुन नसक्ने भएकाले पनि यसलाई समावेशी पर्वको रूपमा अथ्र्याइने गरिएको छ । टिचिङ अस्पतालमा कार्यरत नेवार समुदायकी एक महिलाले आफू वीरगञ्ज हुँदा यो पर्व मनाउन थालेको बताइन् । उनले भनिन्, “वीरगञ्ज बस्दा यो पर्व मनाउन थाले यता विभिन्न आकांक्षाहरू पूरा हुँदै आएकाले आस्थाका साथ काठमाडौंको रानीपोखरीमा मनाउने गरेको थिएँ । यो वर्ष अन्तै मनाउनुपर्ने भयो ।”