तालिकाअनुसार मात्र उडान गर्न निर्देशन
निगमलाई प्राधिकरणको स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै उडान तालिका स्वीकृत नगराई बोर्डिङ पास दिएर गैरकानुनी रुपमा उडान गर्न खोज्नुको कारण सोधेको हो ।
प्राधिकरणले जाडो याम (अक्टोबर ३० देखि मार्च २५ सम्म)को उडान कार्यतालिका सार्वजनिक गर्दै कार्यतालिका अनुसार निगमको आइतबार अपरान्हको काठमाडौं–दिल्ली उडान नभएको र निगमले उडान गर्न खोजको भन्दै रोक लगाएको थियो । उडान स्वीकृत नभएको निगमले काठमाडौंबाट दिल्ली उडान गर्न खोजेर यात्रुहरुलाई विमानस्थलमा बोलाई गन्तव्यमा नपुर्याई अलपत्र पारेको घटनाप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोर्डिङ पास दिएर अलपत्र पार्ने काम गरेको र उडान नभए पनि सो उडानका यात्रुहरुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा विमानस्थल बोलाएर अलपत्र पारेकोले के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा निगमलाई २४ घण्टे स्पष्टीकरण छ ।”
साथै सिकागो महासन्धी तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान/अवतरणको लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्राधिकरणले भनेको छ । प्राधिकरणवाट उडान अनुमति प्राप्त नगरेको कुनै पनि उडानको टिकट बिक्री/वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान कार्यक्रम मात्र सञ्चालन गर्न/गराउन सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशन गर्दै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने प्राधिरणले स्पष्ट पारेको छ ।
निगमले पनि विज्ञप्ति जारी गर्दै आइतबारको उडान रोक्नु परेकोमा यात्रुसँग क्षमायाचना गर्दै आगामी दिनमा यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता जनाएको छ । उडान तालिका नभएको समयमा उडानको लागि निगमले यात्रुलाई टिकट बिक्री गरेको थियो । तर, नयाँ उडान तालिकाअनुसार प्राधिकरणले उडान कटौती गर्दा सोमबार बिहान हुने काठमाडौं–दिल्ली उडान गर्न सकेन ।
निगमले प्रेस विज्ञप्तिमा भनेको छ, “विशेष कारणवश उडान रद्द भएको र आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिवद्धता व्यक्त गर्दछौं । उडान रद्द भएको कारणबाट गन्तव्यमा पुुग्न नसकेको यात्रु महानुुभावहरुलाई वैकल्पिक व्यवस्थाहरुबाट उडान व्यवस्थापन गरिने छ ।” निमगको तालुकदार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको उडान तालिका अनुसार उडान गर्न निगमलाई निर्देशन समेत दिएको छ । सोमबार नै प्राधिकरणका महानिर्देशक, निगमका अध्यक्ष र विभागीय मन्त्री जीवनराम श्रेष्ठ सहितको संयुक्त बैठकले आगामी दिनमा यस्तो घटना नदोहोर्याउन र यात्रुलाई वैकल्पिक व्यवस्थाबाट उडान गरेर गन्तव्यमा पुर्याउन निर्देशन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले जाडो सिजनको लागि उडान कार्यतालिका स्वीकृत गर्दै अक्टोबर ३० देखि मार्च २५ सम्मको लागि नयाँ उडान तालिकामा निगमको नियति उडान कटौती गर्दै उडान तालिका स्वीकृत गरेको थियो ।