सरकारी अस्पतालमा उपचार गराउनेको भीड

कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ ।
जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पुर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भए पनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभूति गर्न पाएका छन् ।
स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टरसहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणासमेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडि एक जिद्दी डाक्टरको भूमिका अहम् रहेको स्थानीय बताउँछन् । नााम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन् सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहिरहने जिकिर गरे । उनले हरेक क्षेत्रमा सुधारका लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महसुस गरेको बताए । उनले स्थानीयहरू अहिले व्यापक भ्रष्टाचारको ठाउँमा उपचार पाएसँगै खुसी भएको बताए । त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउँछिन् ।
अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रूपमा हेरिएको छ । कुनै सयम औषधि खरिदलगायत प्रशासनिक खर्च अपारदर्शिता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ । प्राथमिक उपचार गराउनसमेत बिरामीहरू जान नचाहने अस्पतालले यतिबेला इको, ईसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनका लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पतालप्रतिको विश्वसनीयता दर्शाएको सहजै अनुभूति गर्न सकिन्छ । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे जिद्दी डाक्टरको रूपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा जिद्दी रहेको बताए ।
सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोसी, हरिनगर, गढी, देवानगन्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरू उपचार गराउन आउने गरेका छन् । अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले बताए ।