के हो दलाल पुंजी र राष्ट्रिय पुंजी ? «

के हो दलाल पुंजी र राष्ट्रिय पुंजी ?

वामपन्थी कित्तामा दलाल पुँजी र राष्ट्रिय पुँजी शब्दको प्रयोग बाक्लै हुने गर्छ । कार्ल माक्र्सले पुँजी नामक पुस्तक प्रकाशन गरेर अतिरिक्त मूल्यको सिद्धान्तले चर्चा पाएपछि पुँजीबारे जिज्ञासा राख्ने अध्येताहरूलाई नयाँ खुराक मिल्यो । पुँजी मानव निर्मित उत्पादनको त्यस्तो साधन हो, जसले समाजको मूल्य अभिवृद्धि गर्ने काम गर्छ । अझ स्पष्ट रूपले भन्नुपर्दा पुँजी सम्पत्ति अभिवृद्धि गर्ने मानवद्वारा सिर्जना गरिएको मानवजातिको सेवाको साधन हो । अतः पुँजी फगत साधन हो, न कि साध्य । पुँजी निर्माणका विभिन्न विधि छन् । पुँजी निर्माण गर्नु भन्नाले उत्पादनमा संलग्न पुँजीको अतिरिक्त थप संरचना निर्माण गर्नु भन्ने बुझिन्छ । मेसिन, जग्गा, भवन, विद्युत्गृह, नहर, विश्वविद्यालय, अनुसन्धानशाला, खेलमैदान आदि संरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ । यसरी पुँजी निर्माणले चालू उत्पादनयोग्य संरचनाहरूको क्षय वा नष्ट हुने हिस्सालाई पूर्ति गरी अतिरिक्त मात्रामा काममा आउने संरचनाहरूको कुल परिमाणलाई बुझाउँछ । पुँजी निर्माणका निम्ति बचत अनिवार्य हुन्छ । बचत जति बढी हुन्छ, त्यति धेरै पुँजी निर्माण हुँदै जान्छ । हुन त पुँजी निर्माणका अन्य तत्वहरू पनि छन् जसमा पुँजीको सीमान्त उत्पादकत्व, राजनीति, राजनीतिले निर्माण गर्ने उपल्लो संरचना, उद्यमशीलता, औद्योगिक वातावरण र हाम्रा संस्कारसमेत पर्छन्, तर पनि बचतलाई प्रमुख तत्वका रूपमा लिइन्छ । त्यसकारण हामीले स्वदेशी पुँजीको न्यूनता रहेको अवस्थामा विदेशी पुँजीको अनिवार्यतालाई स्विकार्दै आएका छौं ।
गत मंसिरको चुनावताका आर्थिक समृद्धि र विकासका कुरा निकै भए । यी दुई शब्द यसरी उछालियो, मानौं ती शब्दबिना भाषण नै राम्रो हुँदैन । सबका सब उम्मेदवार अब्बल अर्थशास्त्री । सबै योजनाविद् । एक हिसाबले राम्रो पनि लाग्यो । अब कम्तीमा आर्थिक विकासबारे सोच्न त सबै बाध्य भए । अब आर्थिक क्रान्तिबिना राजनीतिक परिवर्तन पनि दीर्घजीवी हुन सक्दैन भन्ने कुरामा विवाद रहेन । अब आर्थिक क्रान्ति गर्न दलाल पुँजीको समाप्ति र राष्ट्रिय पुँजीको विकास जरुरी छ भनियो । यो एकदम सही कुरा हो । देशका उद्योगधन्दाहरूको विनाश गर्दै आयातित वस्तुको भन्सारबाट मोटाउने सरकार र व्यापारीहरू दलाल पुँजीवादका उदाहरण हुन् । दलाल पुँजीवादले देशभित्रको पुँजी निर्माणमा कुनै योगदान गर्दैन, बरु भएका पुँजीगत स्रोतहरूको प्रयोगबाट वस्तु आयात गर्दै अकुत नाफा कमाउने ध्याउन्नमा रहन्छ । यसबाट हुने नाफाबाट विलासिताका वस्तु आयात गर्दै राष्ट्रलाई थप विदेश निर्भर हुन बाध्य पार्छ या अनुत्पादक घरघडेरी खरिद वा विभिन्न किसिमका सट्टेबाजी क्रियाकलापमा लगानी बढाउँछ । समाजमा थप उत्पादन नगरी यताउता गरेको भरमा अकुत सम्पत्ति कमाउने क्रममा कर्मचारी तन्त्र र राजनीतिले ओतप्रोत गर्छ । दलाल पुँजीमा टिकेको सत्ता मूलतः भ्रष्ट हुन्छ । जे–जति स्रोतसाधन उपलब्ध छ त्यसको दुरुपयोग हुने र दिगो विकासको आधार नष्ट हुने स्थितिको सिर्जना हुन्छ । विप्रेषण र आयातको भेलबाट निस्केको राजस्वमा तर मार्नेहरूलाई निर्यात वृद्धि या आत्मनिर्भरमुखी उपाय गौण हुन्छ । व्यापार असन्तुलन घटाउने र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने प्रश्न गौण रहन्छन् । दिगो विकासप्रतिको प्रतिबद्धता र यससँग जोडिएका अनुशासन र सुशासनका सर्तहरू दलाल पुँजीवादको जगमा अडेको सरकारमा हुँदैन । अतः दलाल पुँजीवादले देशलाई आत्मनिर्भरताको बाटोतिर जाने हरेक क्षेत्रको लगानी र पुँजी निर्माण प्रक्रियालाई हतोत्साहित गर्छ । राज्यका हरेक क्षेत्रबाट हुने राष्ट्रिय लगानीलाई निरुत्साहित गर्दै साम्राज्यवादी पुँजीको सेवा गरी देशलाई परनिर्भर बनाउनु दलाल पुँजीवादको आधारभूत चरित्र हो । दलाल पुँजीवाद नेपालको ऐंजेरु झार हो । यसले नेपाली जनजीवनलाई नराम्ररी गाँजेको छ । यो नै देशको प्रगतिको बाधक हो । दलाल पुँजीवादको राजनीतिक सत्तासँग अत्यन्त बलियो लगनगाँठो गाँसिएको व्यवहारतः पुष्टि हुन्छ ।
राष्ट्रिय बचतको माध्यम वा स्वदेशी साधन र स्रोतको सदुपयोगबाट स्वदेशमै पुँजी निर्माण गर्दै जाने प्रक्रिया नै राष्ट्रिय पुँजी निर्माण हो । राष्ट्रिय पुँजीको अभीष्ट नै स्वदेशी उत्पादन बढाउनु हो । समाजको मूल्य अभिवृद्धि गर्ने काम नै राष्ट्रिय पुँजीको प्रथम र अन्तिम गन्तव्य हो । उत्पादित वस्तु देशमा खपत होस् वा विदेशमा, राष्ट्रिय पुँजीले देशको कुल गार्हस्थ्य उत्पादनमा मद्दत पुर्याउने काम गर्छ । अतः राष्ट्रिय पुँजी निर्माण निरन्तर अगाडि बढाइने उत्पादनको प्रक्रियामा बन्दै र बढ्दै जाने प्रक्रिया हो । उत्पादनशील क्षेत्रमा लगानीका लागि पुँजी निर्माण गर्ने र थप आर्जित पुँजी पुनः लगानी गर्ने चक्रीय प्रणालीबाटै राष्ट्रिय पुँजी निर्माण हुन्छ । जति–जति उत्पादनशील पुँजीको मात्रा बढ्दै जान्छ उतिउति मात्रामा दलाल पुँजीको मात्रा घट्दै जान्छ । यसैले हरेक उपायबाट देशका लागि आवश्यक उत्पादनका निम्ति लगानी (स्वदेशी वा विदेशी) जुटाउँदै जानु र पुँजी निर्माण गर्दै उत्पादनमा वृद्धि गर्दै जानु राष्ट्रिय पुँजी निर्माण प्रक्रिया हो । यहाँनेर सम्झनुपर्ने कुरा के छ भने पुँजी निर्माण प्रक्रियामा गएर रोजगारी सिर्जना गर्दै उत्पादनमा फड्को मार्ने गरी निर्माण गरिएको खाका आउन पनि स्वाधीन राष्ट्रिय अर्थतन्त्रका पक्षपाती सत्ता चाहिन्छ । निर्वाचनमार्फत त्यस्तो अर्थतन्त्र निर्माणका हिमायतीहरू कम्तीमा पनि विजयी हुनुपर्छ र दलाल पुँजीपति वर्गका पक्षपातीहरू परास्त हुनुपर्छ । आफ्नो देशलाई माया गर्नेहरू सरकार र योजना तर्जुमा गर्ने ठाउँसम्म पुग्नु जरुरी हुन्छ । त्यो भयो या भएन अब बन्ने सरकारको कामकाजबाट प्रस्ट हुने नै छ । जनमुखी सत्ता, त्यसले लिने निर्णय र त्यसलाई लागू गर्ने कर्मचारीतन्त्र र स्थानीय सरकारबीच उचित तालमेल हुन गयो भने अवश्य पनि राष्ट्रिय पुँजीको विकास गर्दै रोजगार राष्ट्रवादको नारालाई चरितार्थ पारेर देशलाई दस वर्षभित्रमा प्रतिव्यक्ति आम्दानी ५ हजार डलर पु¥याउन ठूलो समस्या पर्दैन । यो लक्ष्य हासिल गर्न कम्तीमा १८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कम्तीका वार्षिक २० अर्ब लगानी हुनु अनिवार्य छ । त्यत्रो ठूलो लगानीका निम्ति हाम्रा सरकार, हाम्रा ऐन–नियमहरू, हाम्रो कर्मचारी प्रशासन र स्थानीय निकायको कार्यशैली र राजनीतिक दलहरूका गतिविधि पनि त्यत्तिकै जिम्मेवार रहन्छन् । संस्थागत संरचना, आधारभूत पूर्वाधार, खोज तथा अनुसन्धान, दक्ष जनशक्ति, पुँजी प्रविधि हस्तान्तरण, छनोट, उक्त उत्पादन क्षेत्रको पहिचान र बजार व्यवस्थापन नगरी यो उच्चस्तरको आर्थिक वृद्धि सम्भव छैन । त्यसका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा विशिष्ट सुधार, निष्पक्ष कार्य सम्पादन गर्ने संस्था, आक्रामक वित्तीय क्षेत्रको विकास र व्यवस्थापन, वैज्ञानिक कर प्रणाली तथा राष्ट्र निर्माणको हुटहुटी बोकेको राष्ट्रभक्त सरकार अनिवार्य सर्त हुन् । कुनै पनि मुलुकको पुँजी निर्माणको प्रक्रियामा आमनागरिक स्वःस्फुर्त र जाँगरिलो रूपले सरिक नभई मुलुक बन्दैन । जनतालाई स्वस्फूर्त रूपले राष्ट्र निर्माणमा उतार्नको निम्ति सरकारदेखि लिएर तलसम्म तदनुकूलका राजनीतिक, प्रशासनिक तथा व्यवस्थापकीय संरचनाहरू निर्माण गरिनु जरुरी हुन्छ । अभियानमूलक जाँगर र भ्रष्टाचारविहीन विकास अभियान चलाउने हो भने राष्ट्रिय पुँजीको निर्माण गर्दै राष्ट्रमा चाहेजस्तो समृद्धि हासिल गर्न असम्भव छैन ।
(लेखक बुटवल बहुमुखी क्याम्पसमा अर्थशास्त्र प्राध्यापन गर्छन् ।)

प्रतिक्रिया दिनुहोस्