रुपन्देही–३ मा राष्ट्रिय महत्वका योजना सार्वजनिक

गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ मा पाँच दलीय सत्ता गठबन्धनले संकल्पपत्रमार्फत राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सारेको छ । पाँच दलीय गठबन्धनले आगामी ४ मसिंरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको सकंलपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुदलगायतका क्षेत्रमा महत्वपूर्ण योजना समावेस गरेको छ ।
निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाहरूको मात्रै नभई सिंगो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्नसक्ने महत्वपूर्ण योजना समावेश गरेर गठबन्धनले आइतबार भैरहवामा आयोजित एक कार्यक्रमबीच संकल्पपत्र सार्वजनिक गरेको हो ।
क्षेत्र नम्बर ३ पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यस्तै, प्रदेश (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा कांग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन् ।
गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारणलाइन निर्माण गर्न पहल गर्ने उल्लेख छ । त्यसैगरी बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारणलाइन यथाशीघ्र निर्माण गर्न पहल गर्ने, कालिगण्डकी–तिनाउ डाइभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइनेजस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ ।
यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशीघ्र डीपीआर गरी निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन् ।
यस्तै, बुद्ध परिक्रमा सडकको दुवैतिर नालिसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै त्यस क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्ने, वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षरोपण गरी हरियाली सडक बनाउनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ ।
यस्तै, यस क्षेत्रभित्र रहेका पालिकाबाट निस्केका फोहरको उन्नत अत्याधुनिक प्लान्टमार्फत ऊर्जा, मल तथा अन्य कच्चा पदार्थ समेत उत्पादनको व्यवस्था गर्ने, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गर्ने र कारागारभित्र रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्ययामजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । बर्दघाटदेखि कृष्णनगरसम्मका क्षेत्रलाई सुव्यवस्थित सहरीकरण गरी विकास गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने, यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, नेपालकै मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया, अमुवा, मानपकडी, मानमटेरिया, हर्नैया, मैनहिया क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी ‘नमुना कृषि पर्यटन’का रूपमा विकास योजना गठबन्धनले समावेस गरेको छ ।
यसैगरी पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशीघ्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गर्ने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट संख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधा सम्पन्न पशु अस्पताल निर्माण गरी यथाशीघ्र सञ्चालन गर्ने योजना संकल्प पत्रमा उल्लेख छ ।
संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले आफूहरूले पूरा गर्न सकिने योजना मात्रै समावेस गरिएको दाबी गरे ।