Logo

नेकपा एसको घोषणापत्र समाजवादमा आधारित

नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।
जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।
राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बक्स
माओवादीको प्रतिबद्धतापत्र आज

नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।
माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।
२०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई–दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसंग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्