१ लाख १५ हजार राजस्व संकलन
तिहारको बेलामात्रै करिब २ सय सवारी कारबाही

लमजुङमा तिहारको बेलामा मात्रै झन्डै दुई सयको हाराहारीमा सवारी चालक कारबाहीमा परेका छन् । चाडपर्वको मुख्य समयमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनहरूलाई ट्राफिक प्रहरी लमजुङले कारबाही गरेको हो ।
ट्राफिक प्रहरी लमजुङका अनुसार तिहार सुुरु भएसँगै ५ कात्तिकदेखि ११ गतेसम्मको कारवाहिमा १ सय ८९ सवारी परेका हुन् । ट्राफिक कारबाहीमा पर्नेमा सवैभन्दा धेरै दुईपांग्रे सवारी छन् । ट्राफिक प्रहरीका अनुसार सो अवधीमा ९३ वटा मोटरसाईकल तथा स्कुटर कारबाहीमा परेका छन् भने ४७ वटा कार जिप ट्राफिक कारबाहीमा परेका छन् । सोबाहेक १८ वटा ट्रक तथा ट्रिपर, १७ वटा बस, सातवटा ट्याक्टर र अन्य सातवटा सवारी साधन ट्राफिक काराहीमा परेका छन् ।
सवारी कारबाहीबाट तिहारको अवधीमा मात्रै ट्राफिक प्रहरीले १ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । सातदिनको अवधीमामात्रै सो रकम राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीका अनुसार मोटर साइकल तथा स्कुटर कारबाहीबाट मात्रै ५८ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने कार तथा जिप कारबाहीबाट ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी बस कारबाहीबाट ९ हजार ५ सय रुपैयाँ, ट्याक्टर कारवाहिबाट ३ हजार ५ सय रुपैयाँ र अन्य सवारी कारबाहीबाट थप ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालय लमजुङकी प्रहरी जवान यमकुमारी थापाले जानकारी दिइन् ।
ट्राफिक प्रहरी लमजुङले चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भन्दै पूर्वसतर्कताका लागि दशै देखिनै चेकजाँच कडाई गरिएको जनाएको छ । चाडपर्वका बेला सवारी चाप बढ्नुको साथै मदिरा सेवन गरी सवारी चलाउने सम्भावना बढि भएकाले जिल्लाका मुख्य–मुख्य ठाउँहरूमा विशेष चेक जाँच गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव निरिक्षक विष्णु नेपालीले बताए ।
सडक दुर्घट्ना न्यूनीकरणका लागि चाडपर्व बाहेकका समयमा पनि यहि प्रक्रियालाई निरन्तरता दिने ट्राफिक प्रहरीले जनाएको छ ।