आधुनिकताले लोप हुँदै ‘सोरठी नाच’

पछिल्लो समय सोरठी नाच लोप हुँदै गएको छ । पहिले गाउँ–गाउँमा सोरठी नाच हुने गरेका थिए तर अहिले सोरठी कमै मात्रामा देखिने गरेको छ । ‘सोरठी नाच’ खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । तिहार आउनु एक साता पहिले नै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशक यता निकै कम भएको छ । आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् ।
यो नाच समूहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरूसँगै गाउने र नाच्ने गर्छन् । शहर तथा ग्रामीण भेग तिहारको बेला निकै रमाइलो हुने गथ्र्यो । जताततै सोरठी नाच्ने र गाउनेहरू भेटिन्थे । अहिले यो नाच देख्न समेत मुस्किल पर्छ ।
घोराहीमा सोरठी नाच्दै गरेका ७१ वर्षीय मानबहादुर थापाले पछिल्लो समय सोरठी लोप हुँदै गएको बताए । आफनो संस्कृतिको संरक्षण गर्नका लागि आफू सोरठी नाच नाच्न थालेको उनले बताए । नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उनी चिन्तित छन् । ‘अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने लागेको छ’, उनले भने । अहिलेका युवा पुस्ताहरूले सोरठी नाच सिक्न नखोज्नेसमेत उनको भनाइ रहेको छ । बाउ, बाजे र काकाबाट नाच्न सिकेका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच संकटमा परेको उनी बताउछन् । अहिलेका युवा पुस्ता पश्चिमेली संस्कृति तर्फ आकर्षण हुँदै गएको बताए ।
पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको सोरठी नाचदै गरेका मानबहादुर थापा बताउछन् । आफू सानैदेखि उमेरदेखि नै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताए । नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने गरेको उनको भनाइ रहेको छ । ‘जमाना फेरिए अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नन्, के–के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत सङ्गीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न’, उनले भने ।
पुस्ता हस्तान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको उनले बताए । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने बताउछन् । ‘अहिलेका युवा पिढी हिन्दी गितमा नाच्न थालेका छन्’ उनले भने । यसले आफनो संस्कृति हराउने उनको भनाइ रहेको छ । समय अनुसार परिवर्त हुदै गए पनि आफनो संस्कृति लाई नै भुल्न नहुने उनको भनाइ रहेको छ ।
अहिले गाउँ सहरमा बूढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने घनबहादुर रावतले बताए । उनले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उनको भनाइ रहेको छ । ‘अझै पनि पुराना बूढापाका अग्रजसँग सिक्ने अवसर छ, युवा पुस्ताले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यौं’, उनले भने । मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरि रहेको उनले बताए ।
पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने तथा विदेशीने गर्दा आधुनिक किसिमका गीत सङ्गीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको वुढापाकाहरू बताउँछन् । तिहारमा समेत विद्यार्थी, विभिन्न संघसंस्था र स्थानीय पनि आधुनिक गीत सङ्गीत बजाएर नाच्न थालेको भन्दै यसले बिकृति बढ्दै गएको उनीहरूको भनाइ रहेको छ । आफ्नो संस्कार संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको वुढापाकाहरू बताउँछन् ।