साहित्य चौतारी झापाद्वारा दक्षिणारहित सामूहिक सडक देउसी

प्राय: तिहारमा खेलिने देउसी दक्षिणाकै लागि खेलिन्छ तर साहित्य चौतारी झापाले भने दक्षिणारहित सामूहिक सडक देउसी खेलेको छ ।
दक्षिणाकै लागि देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्न साहित्य चौतारी झापाले २०५८ सालदेखि हरेक वर्ष गोवद्र्धन पूजाको दिन बिर्तामोडको दुर्गा मन्दिरमा दक्षिणारहित सामुहिक सडक देउसी खेलिँदै आएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
कार्यक्रममा निवर्तमान सांसद पवित्रा निरौला खरेलले साहित्य चौतारीले दक्षिणारहित सामूहिक सडक देउसी खेलेर देउसीको नाममा दक्षिणा संकलन गर्ने परिपाटीलाई अन्त्य गर्ने सन्देश दिएको बताइन् ।
साहित्यकार डा. पुण्यप्रसाद सिग्देलले देउसीको पौराणिक महत्वमाथी प्रकाश पार्दै साहित्य चौतारी झापाले दक्षिणारहित सामूहिक सडक देउसी खेलेर मौलिक संस्कृतिको जर्गेना गरेको बताए ।
नेपाली मौलिक भेषभूषा र नौमती बाजागाजासहित साहित्य चौतारीका पदाधिकारी , विभिन्न संस्थाका पदाधिकारी , देवी पञ्चकन्या नौमती बाजा महिला समूह, सिंहवाहिनी नौमती बाजा महिला समूह, साहित्यकार, सञ्चारकर्मीलगायतको टोलीले बिर्तामोडको दुर्गा मन्दिरबाट शुरु गरेको दक्षिणारहित सामूहिक सडक देउसीले बिर्तामोड नगर परिक्रमा गरेको संस्थाका अध्यक्ष हस्त परियारले बताए ।