Logo

उपल्लो डोल्पाबासीलाई नुन र चामलकै चिन्ता

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न, आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै कोटा निर्धारण गरिन्छ । तर त्यहाँ विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन । वर्ष दिनदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलसमेत पुग्न सकेको छैन ।
सरकारी कोटामा पुग्ने तर, उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने प्रवृत्तिका कारण यहाँका स्थानीय मर्कामा पर्दै आएका छन् । अधिकांश जनजाति समुदाय बसोबार गर्नुका साथै सदरमुकाम दुनैबाट ७ दिनसम्म पैदल हिडेर उपल्लो डोल्पा पुग्न सकिन्छ । तीनवटा गाउँपालिका रहेको यहाँ जनसंख्या कम भएपनि भूगोल ठूलो रहेको छ । उच्च हिमाली भेग रहेकाले वर्षमा एक बाली मात्र अन्न उत्पादन हुने तीन पालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एउटा मात्र खाद्यान्न बिक्री केन्द्र राखेको छ ।
यातायातको पहुँच नभएको त्यहाँ घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरेर उपभोग गरिँदै आएको शे फोक्सुण्डो गाउँपालिकाकी अध्यक्ष प्रेम गुरुङले बताइन् । गुरुङले भनिन्, “अब हिमपात समेत सुरु भइसकेको छ, केही समयभित्र नाकाहरु बन्द हुन्छन् । खाद्य डिपोमा चामलको मौज्दात शुन्य छ, वर्ष दिनदेखि ठेकेदारले चामल ल्याएकै छैनन् ।” त्यस्तै चीनको भूभाग हुँदै ढुवानी गरिँदै आएको आयोडिनयुक्त अनुदानको नुन समेत पाँच वर्षदेखि उपल्लो डोल्पाका सर्वसाधारणले प्रयोग गर्न नपाएको उनले बताइन् ।
कोभिडको बहाना बनाउँदै अनुदानको आयोडिनयुक्त नुन ढुवानी रोकिएकोमा अहिलेसम्म आपूर्ति गरिएको छैन । सो क्षेत्रमा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताए । यातायातको पहुँच नभएका कारण नुन ढुवानी गर्न नसकिएको उनको भनाइ छ ।
यो आर्थिक वर्षमा समेत सदरमुकाम बाहिर रहेका बिक्री केन्द्रमा हवाइ मार्गमार्फत नुन ढुवानीका लागि ५ भदौमा बोलपत्र आवह्वान गरेपनि अहिलेसम्म नुन पुग्न सकेको छैन । नेपालगन्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनी कोटा निर्धारण गरिएको थियो ।
उपल्लो डोल्पामा भने हवाइ मार्गमार्फत ढुवानी गर्न कुनै पनि प्रक्रिया सुरु गरिएको छैन । उपल्लो डोल्पामा नुन ढुवानीको विषयमा आफूलाई जानकारी पनि नआएको कार्यालय प्रमुख धामीले बताए ।
पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमन गर्दा तेन्जे नाकामा जथाभावी भण्डारण गरिएको अवस्थामा फेला परेको थियो । नुन र खाद्यान्न ढुवानीका लागि पहल नगरिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पाबासीले आक्रोसित भएको डोल्पोबुद्ध गाउँपालिका–३ का पुटी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्