Logo

सुनसान सीमावर्ती क्षेत्रका नेपाली बजार

दिपावली तथा छठ पर्वको बेला समेत सीमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान भएका छन् । नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजारमा पुग्ने गरेपछि नेपाली व्यवसायीहरु चाडपर्वको बेलासमेत निराश हुने गरेका छन् ।
स्थानीय सर्वसाधारणहरु किनमेलका लागि भारतीय बजारमा निर्भर भएपछि वर्षेनि चाडपर्वको बेलासमेत नेपाली बजार सुनसान भएका हु्न् । नेपाली ग्राहकै कारण भारतीय बजारमा भरिभराउ हुने गरेका छन् ।
खुल्ला सिमाना र भारतीय बजार नजिक भएका कारण ९० प्रतिशत भन्दा बढी ग्राहक भारतमा जाने गरेका छन् । केही ग्राहक समेत फाटफुट तथा खुद्रा समान किन्न मात्र पसलमा आउने गरेको व्यवसायीको गुनासो छ । अधिकांश नेपाली उपभोक्ता भारतीय बजारमै पुग्ने गरेका कारण उनीहरुको तुलनामा नेपाली व्यवसायीको व्यापार भने न्यून हुने गरेको बताइएको छ ।
भारतीय बजारमा सस्तो मूल्यमा समान किन्न पाउने भएकाले नेपाली नागरिकहरु भारतीय बजारमा जाने गरेको स्थानीय शंकर महतोले बताउँछन् । सबै समानहरु भारतबाटै आयत गरिन्छ । तर सरकारले लगाएको चर्काे भन्सार शुल्कका कारण नेपालबाट आयातित समानहरु भारतीय बजारको तुलानामा धेरै महंगो हुने गरेको व्यवसायीहरु नै बताउँछन् ।
सरकारले चाडपर्वको बेला समेत स्थानीय स्तरमा अतिआवश्यक समानको आपूर्ति सहज रुपमा गर्न नसकेका कारण नेपाली उपभोक्ता भारतीय बजारमा जान बाध्य भएका हुन् । यहाँका स्थानीयलाई दैनिक उपभोगका सामग्री किन्न नजिकमा राम्रो बजार छैन । नेपालमै समान किन्न सदरमुकाम मलंगवा, गोडैता, बरहथवा अथवा रौतहटको गौरमा जानुपर्छ । जुन बलराबाट १० देखि ४० किमिसम्म टाढा रहेका छन् । सरकारले नेपालमै सबै समानको उचित मूल्यमा सहज आपूर्ति गर्न सके भारतीय बजारमा किनमेलका लागि जाने नेपालीको संख्यामा कमि आउने स्थानीय व्यवसायीहरु बताउँछन् ।
सरकारको गलत नीतिका कारण नेपाली व्यवसायीहरु मर्कामा परेको उद्योग वाणिज्य सघ मलंगवा सर्लाहीका अध्यक्ष विरेन्द्र साहले बताए । सरकारले भारतबाट आयातित समानमा लगाएको फरक भन्सार दररेट कारण नेपाली व्यवसायीहरु मर्कामा परेको उनको गुनासो छ । धान तथा चामलमा भारत सरकारले नै २० प्रतिशत शुल्क लगाएका कारण ती समानहरु नेपाली व्यसायीले आयत गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्