जुम्लामा धान भित्र्याउने चटारो

तिहार सकिएसँगै जुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो सुरु भएको छ । तिहार सकिएलगत्तै जुम्लाका सबै भेगमा मार्सीधान भित्र्याउन थालिएको हो । एकै दिन धान काट्ने (ढाल्ने) स्थानीय चलनअनुसार तिहारलगत्तै जुम्ली किसानलाई मार्सीधान भित्र्याउने चटारो सुरु भएको छ ।
विगतका वर्षामा जुम्लाका अधिकांश क्षेत्रमा तिहार अगावै धान भित्र्याइन्थ्यो । तर यसवर्ष वर्षा र बाढी कारण मार्सीधानका फाँट डुबानमा पर्नुका साथै धान भिजेकाले भर्खर भित्र्याउन लागिएको हो ।
कोदो, सिमी, मकैलगायतका अन्नबाली केही साताघि भित्र्याइसके पनि धान भने जुम्लामा तिहारपछि मात्र भित्र्याउन लागिएको छ । जुम्लाका सिंजा, पानसय, असी र चौधबीस भेगका सबै किसान यतिबेला मार्सीधान भित्र्याउन ब्यस्त देखिन्छन् ।
वर्षाका कारण धान भिज्नुका साथै धेरै मार्सीफाँट बगर बनेपछि राम्ररी सुक्न दिएर तिहार पछि धान भित्र्याउन थालिएको जुम्लाका किसान दत्त बुढाले बताए । उनले भने, “गत वर्षको बाढीले खेत बगाउँदा उचित राहत पाएनौं । यस वर्ष पनि लाछु ज्युलोका दर्जनौ खेतमा बालुवा भरिएको थियो । लाछु ज्युलो केही समयअघि धान भित्र्याएपनि अन्य ज्युलोमा तिहारपछि किसानलाई चटारो सुरु भएको छ ।”
धान उत्पादनमा गिरावट आउने अनुमान
यस वर्ष जुम्ली मार्सीधानको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । असोज तेस्रो साता भएको वर्षाले जुम्लाका अधिंकाश मार्सीफाँट बगर बनेका छन् । भित्र्याउनै लागेका धान बालुवा पसेर क्षति भएको थियो ।
जुम्लाकै ठूलो तथा पहिलो मार्सी खेती गरिएको तातोपानीको लाछु ज्युलो यस वर्षपनि डुबानमा परेको छ । जसका कारण उत्पादन वृद्धिमा गिरावट आउने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार जुम्लामा प्राकृतिक विपदीका कारण पछिल्ला वर्षहरुमा धानलगायत रैथाने बालीको उत्पादनमा गिरावट आउन थालेको छ ।
तथ्यांक अनुसार आ.व.२०७६/०७७ मा ६ हजार २ सय मेट्रिकटन, आ.व. ०७७/०७८ मा ६ हजार मेट्रिकटन धान उत्पादन भएको जुम्लामा गत आ.व. ०७८/०७९ मा कात्तिकमा भएको बेमौसमी वर्षाले १८ हेक्टर मार्सीफाँटमा क्षति गर्दा १२ सय मेट्रिकटनले घटेर ४ हजार ८ सय मेट्रिटन मात्रै धान उत्पादन भयो ।
चालु आवमा धान उत्पादन बढ्ने अपेक्षा गरिए पनि गत वर्षजस्तै १९ देखि २५ असोजसम्म लगातारको वर्षा भएपछि जुम्लामा धान लगायत अन्य कृषि अन्नबाली उत्पादन घट्ने अनुमान छ ।