Logo

कर्णाली राजमार्ग स्तरवृद्धिका लागि बजेट माग

१९ असोजदेखि २५ गतेसम्मको अविरल वर्षापछि आएको बाढी पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । बाढी पहिरोले कर्णाली राजमार्गको झण्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्म १ सय ४ किलोमिटरमध्ये ४० किमि पहिरोले पूर्ण अवरुद्ध सडक सोमबारदेखि खुलेको हो । सडक अवरुद्ध हुँदा कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको थियो ।
कर्णाली राजमार्ग खुल्न कम्तीमा ४/५ महिना लाग्ने र तत्काल सडक खुल्न सम्भव नरहेको असम्भव तर्क दिइरहेका थिए । तर सडक डिभिजन जुम्ला र नेपाली सेना दिनरात खटेर नागरिकको अपेक्षाभन्दा धेरै छिटो कर्णाली राजमार्ग खुलेको छ । अवरुद्ध भएको २० दिनपछि सोमबार राति ८:१५ बजेबाट कर्णाली राजमार्ग खुलेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । सडक खुलेसँगै माथिल्लो कर्णालीबासी उत्साहित छन् । सडक खुले पनि सडकको दुरावस्था भएकाले स्तरोन्नतिका लागि विशेष बजेट छुट्यानुपर्ने कर्णालीबासीको माग छ ।
ट्रयाक खोलेर साना गाडी आउजाउ गर्न सहज भएको छ । नागरिक अगुवा राजबहादुर महत भन्छन्, “सुरक्षित यात्रा अझै सम्भव छैन । क्षतविक्षत राजमार्गको सुधारका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेट छुट्याउनु पर्छ ।”
सडक खुले पनि तत्काल सुरक्षित यात्रा हुने छैन । बाढी पहिरोले सडकको अवस्था दुई दशक पहिलाको जस्तो भएको छ । स्तरोन्नतिका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
उनले भने, “यति छिटोल सडक खुल्ने कसैले विश्वास गरेका थिएनन् । सडक डिभिजनका कर्मचारी र सेनाले अप्रत्यासित रूपमा नागरिकको अपेक्षाभन्दा अघि नै सडक खोलेरइच्छा शक्ति, निरन्तरता र उत्तरदायित्वको पाठ सिकाएका छन् । अब स्तरवृद्धिका र बजेट व्यवस्थापनका लागि साझा पहल हुन जरुरी छ ।”
सडक खुलेसंँगै उत्साहित कर्णालीबासीले कर्णाली राजमार्गलाई भरपर्दो र सुरक्षित बनाउन संघ, केन्द्र र स्थानीय तहका सबै नेताले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

अपेक्षाभन्दा अघि खुल्यो सडक
सडक खुलाउन सडक डिभिजन जुम्लाको एक सयभन्दा बढी जनशक्ति फिल्डमा खटिएको थियो भने, नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्प नै बसेर सडक खुलाउन खटिएको थियो । प्रमुख श्रेष्ठले भने, “दिनरात भोक निद्रा नभनी खटिएर साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयौं । तिहारमा कर्णालीबासीलाई उपहारका रूपमा राजमार्ग खुलाउने लक्ष्यअनुसार काम गरेका हौं । सोमबार राति साढे ८ बजेदेखि सडक सञ्चालनमा आएको छ ।”
इन्धनको अभाव चुलिएको बेला सडकका कर्मचारीले डिजेल बोकेरसमेत सडक खुलाउन जुटेका थिए । कर्णाली राजमार्ग कतिबेला र कहिले खुल्छ भन्ने कुरा कर्णालीबासीको मुख्य चासोको विषय बनेको थियो । दीपावलीमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गको धनडा सडक खण्डबाट अवरुद्ध पन्छाउने काम सम्पन्न भएको प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक खुलाउन चाउचाउको सहारामा रातदिन लेन्थवर्कर, इन्जिनियर, सबइन्जिनियर लगायतका एक सयजना जनशक्ति खटिएको थियो ।
सडक खुले पनि सचेत भएर यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ । सडक खुलाउनका लागि सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ नियमित फिल्डमै खटिएका थिए भने सयौ जनशक्ति परिचालनसमेत गरेका छन् ।
त्यसैगरी अवरुद्ध कर्णाली राजमार्ग खुलाउन नन्दाबक्स गण जुम्लाको ५० जना सेनाको टोली कार्यक्षेत्रभन्दा बाहिर कालिकोटको राँचुलीमा क्याम्प स्थापना गरी बसेका थिए । विशाल ढुंगा फुटाउन सेनाले दुई दर्जनबढी ब्लास्टिङ गरेको छ ।
सडक खुलाउन दिनरात नभनी सेनाले साथ दिएको छ । सडक अवरुद्ध भएपछि आत्तिएका कर्णालीबासीलाई राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटको राँचुलीमा क्याम्प बस्ने गरी ५० सेनाको टोली पठाएको नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्