बालविवाह धेरै हुने मुलुकको शीर्ष १० मा नेपाल «

बालविवाह धेरै हुने मुलुकको शीर्ष १० मा नेपाल

युनिसेफले गरेको एक गहन विश्लेषणले बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्वकै शीर्ष दशमा पर्ने देखिएको छ । सो विश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने गरेको छ ।
विश्वका ८२ मुलुकहरूको तथ्यांकका आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उप सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्र तथा दक्षिण एसियाका रहेका छन् ।
“बालविवाहले बालबालिकाको बाल्यावस्था हरण गर्दछ,” युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “बालविवाह भएका बालकहरूले उमेर नपुग्दै वयष्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ, जसको लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएका बालकहरूले छिट्टै बाबुको भूमिका निभाउनुका साथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरहरूबाट वञ्चित हुन्छन् ।”
साथै बाल विवाहबाट सामाजिक, आर्थिक तथा स्वास्थ्यको विकासमा पनि बाधा पर्दछ । तथ्यांकअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) को बालविवाह हुने गरेको छ । नेपाल दशौं स्थानमा परेको एकमात्र दक्षिण एसियाली मुलुक हो, जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह भएको छ ।
विश्वभरि कुल ७६ करोड ५० लाखको बालविवाह भएको युनिसेफको भनाइ छ । बालविवाह हुनेहरूमा धेरै जसो बालिकाहरू छन् । बालविवाहले बालिकाहरूमा पार्ने असर, सोको कारण र दरका बारेमा धेरै अध्ययनहरू भएका छन् । तर बालकहरूको विवाहको विषयमा भने थोरैमात्र अनुसन्धान भएको छ । बालविवाहको जोखिममा रहेका बालबालिका विशेष गरी निम्न आय परिवारका, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र औपचारिक शिक्षा हासिल नगरेका वा कम हासिल गरेका हुन्छन् ।
“आज हामीले बालअधिकार सम्बन्धी महासन्धिको तिसौं वार्षिकोत्सवमा के मनन गर्नुपर्छ भने बालबालिकाको उमेर नपुग्दै विवाह गरीदिनु भनेको महासन्धिले उल्लेख गरेको उनीहरूको अधिकारको हनन् गर्नु हो,” हेनरिएटा फोरले भने, “थप अनुसन्धान, लगानी र सशक्तीकरणको माध्यमबाट हामीले सो अधिकारको हननको अन्त्य गर्न सक्छौं ।”

प्रतिक्रिया दिनुहोस्