वैदेशिक व्यापारमा उच्च गिरावट

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको छ ।
सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । वैदेशिक व्यापारमा नगण्य हिस्सा रहेको निकासी व्यापारमा समेत कमी आउँदा सबै सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक बनेका छन् ।
विभागका अनुसार आयात तथा निर्यातको योगफल अर्थात् कुल वैदेशिक व्यापार अघिल्लो आवमा ५ खर्ब ४३ अर्ब ५७ करोड रहेकोमा चालू आवको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो वर्ष ११.९७ प्रतिशत रहेकोमा चालू वर्षमा घटेर ९.४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.०३ प्रतिशतबाट बढेर ९०.५६ प्रतिशत पुगेको तथ्यांक छ ।
असोजसम्म निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निकासी भएकोमा चालू आवको सोही अवधिमा भने यसमा ३५.७१ प्रतिशतले गिरावट आई ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । निर्यातसँगै आयातमा पनि कमी आएको छ । सरकारले मुख्य वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयातमा १६.२० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार आयात र निर्यात दुवैमा कमी आएसँगै व्यापार घाटामा पनि कमी आएको छ । असोजसम्म ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको र यो घाटा अघिल्लो आवको तुलनामा १३.१३ प्रतिशतले कम रहेको विभागको तथ्यांक रहेको उनको भनाइ छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ थियो ।
नेपालको मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको भटमासको तेल ३ अर्ब १६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ भने पाम आयलको निकासी भने ८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस्तै, सनफ्लावर आयलको निकासी १५ करोड ६३ लाख रुपैयाँमा सीमित छ । भारतले वनस्पति तेलमा कर घटाएसँगै नेपालको निकासी व्यापार घटेको हो । आयाततर्फ भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २९ करोडको डिजेल, १४ अर्ब ९४ करोडको एलपी ग्यास आयात भएको छ ।
बक्स
भारतसँग सवा २ खर्ब र चीनसँग ५६ अर्ब व्यापार घाटा
भारतसँगको व्यापार घाटा २ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो अवधिमा भारततर्फ २८ अर्ब ९७ करोड रुपैयाँको वस्तु निकासी गरी २ खर्ब ४४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सामग्री नेपालले भित्र्याएको छ ।
यस्तै, उत्तरी छिमेकी चीनसँगको व्यापार घाटा ५५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । चीनबाट ५६ अर्ब ४ करोडमा सामग्री भित्रिएका छन् भने निर्यात १६ करोड ४२ लाखमा सीमित छ । चीनतर्फका तातोपानी र रसुवागढी नाकाबाट निर्यात शून्य रहेको विभागको तथ्यांकमा उल्लेख छ ।