छठ पर्व किन मनाइन्छ ? «

छठ पर्व किन मनाइन्छ ?

नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौं दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दीपावली भनी मनाउने चलन छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महŒवपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई–मधेस क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । देशको कुनाकुनामा तिहार सकिएसँगै विशेष त मधेसी समुदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । तर, केही दशक पहिलेसम्म तराई क्षेत्रमा मनाउने भनी प्रचलनमा रहेको छठ अहिले अधिकाश हिन्दू समुदायले विशेष रूपले मनाउने गरिएको पाउन थालिएको छ । सन्तान प्राप्ति, दु:खकष्ट, रोग निदान र पारिवारिक सुखशान्ति, समृद्धिका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवजन्तुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा लिइन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यो सबै हिन्दूको साझा पर्वको रूपमा परिचित हँुदै गएको छ । कार्तिक शुक्ल चतुदर्शीका दिन सुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
यो एउटा यस्तो चाड हो, जसमा डुब्न लागेको सूर्यका साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् । तर, डुब्न लागेको घाम, गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् । यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीलाई समान रूपमा प्रकाश दिन्छ । त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कात्तिक महिनामा धूमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधिविधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।
छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी, जलाशय, कुण्डमा गई यस दिन छठ पूजा गर्छन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्छ । यो पर्व मनाउनका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारणहरू अहिले बजारमा व्यस्त भएको पाइन्छ । यस पर्वमा आवश्यक पर्ने साधनमा बाँसका नयाँ डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सखर किनमेल गर्नेको भीड बढेको छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सखरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुन्छन् र यो पर्व विधिवत् मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
यस पर्वमा विशेष गरी प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, मुला, सुथनी, अदुवा, उखु, केराउ, ठेकुवा र मिठाई आदि चढाउने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वमा सूर्य भगवान्को पूजा–आराधना गरी मनाउने पर्व हो । सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाका लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा समापन हुने गर्छ । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले विभिन्न ताल, नदी छेउछाउमा यो पर्व मनाइन्छ ।
—रोजीना महर्जन

प्रतिक्रिया दिनुहोस्