तिहारमा पनि लमजुङका होमस्टेमा पर्यटक

मुलुभरी तिहारको रौनक छाइरहँदा लमजुङका पर्यटकीय गाउँहरुमा भने पर्यटकहरुको उत्साहजनक आगमन भएको छ । जिल्लाको घलेगाउँ, काउलेपानी लगायतका उत्कृष्ट गन्तव्यमा दैनिक आन्तरिक पर्यटकको आगमन भएको हो ।
पर्यटकीय सिजन भएकोले पनि वर्षभरी काम र अध्ययनमा व्यस्त हुनेहरु तिहार विदाको सदुपयोग गर्दै पर्यटकीय गाउँमा आएका हुन् । कोभिड–१९ का संक्रमण जोखिमका कारण लामो समय प्रभावित बनेको पर्यटन व्यवसाय केही समय अघिमात्रै चलायमान बनेको हो । होमस्टेहरुमा चाडपर्वको बेला पनि पर्यटकको आगमन हुँदा पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
तिहार विदाको सदुपयोग गर्दै लमजुङको पर्यटकीय घलेगाउँमा पर्यटकहरुको उत्साहजनक आगमन भएको घलेगाउँ सञ्चालक समिति अध्यक्ष गंगा घलेले बताए । घलेगाउँमा तिहारको बेला पनि दैनिक पर्यटकको आगमन भएको र शुक्रबार मात्रै पर्यटकले सबै होमस्टे भरिभराउ भएको अध्यक्ष घलेले बताए ।
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको गाउँशहर काउलेपानीमा पनि तिहारको बेला पारिवारिक समुहमा पाहुनाहरु आएको काउलेपानी होमस्टे सञ्चालक समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी बताए । सवैतिर चाडपर्वको रौनक भएपनि गाउँमा पर्यटकको निरन्तर आगमन भएपछि होमस्टे व्यवसायीहरु व्यवसायमै व्यस्त भएको अध्यक्ष गुरुङको भनाइ छ ।
निरन्तर पर्यटकहरुको आगमन भएपछि चाडपर्वका बेलापनि स्थानिय होमस्टे सञ्चालकहरु दैनिक पाहुना स्वागत गर्ने, उनीहरुको व्यबस्थापन गर्ने लगायतका काममा व्यस्त भएका छन् । गाउँमा आएका पाहुनाहरु चाडपर्वको रौनकसँगै स्थानिय संस्कृतिमा रम्ने गरेको अध्यक्ष गुरुङको बताए ।
झण्डै दुई वर्षको बन्दाबन्दी पछि सञ्चालनमा आएका होमस्टेहरुमा यस वर्ष समयमै पर्यटकहरुको आगमन बढेको छ । होमस्टे सञ्चालन गरिएका जिल्लाका पर्यटकीय गाउँहरु भुजुङ, सिउरुङ, बाँझाखेतको खासुर लगायतका गाउँहरुमा पनि आन्तरिक पर्यटकको आगमन हुँदै आएको छ ।
जिल्लाका पर्यटकीय गाउँहरुमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । गाउँहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्दै गएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता बोकेको जिल्ला भएकाले अहिले आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको पर्यटन व्यवसायीहरुले बताएका छन् । श्रोत र सम्भाब्यता भएका यस्ता गाउँहरुमा दीर्घकालिन योजनासहित व्यबस्थापन गर्नुपर्ने व्यवसायीहरुको धारणा छ ।