मेनपावरका शाखाको अनुगमन पनि प्रदेशबाटै
अब प्रदेशबाट नै श्रम स्वीकृतिका सबै काम

वैदेशिक रोजगारमा जाने युवाको श्रम स्वीकृति र मेनपावरले गर्ने छनोट तथा भर्ना प्रक्रियाका सबै काम काठमाडौ बाहिरबाट समेत हुने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवा र छनोट प्रक्रियामा सहभागी मेनपावरको सहजताका लागि काठमाडौ उपत्यका बाहिरबाट समेत श्रम स्वीकृति सबै काम हुने गरी अधिकार दिएको हो । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा र विराटनगरबाट पुन श्रम स्वीकृतिको काम मात्र हुँदै आएको थियो । यस मध्ये पनि सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आएपछि काठमाडौ बाहेक बुटवलको श्रम कार्यालयबाट १ वर्ष अघिदेखि श्रम स्वीकृतिका सबै काम पहिलो पटक भैरवहाबाट गरेको थियो ।
यसअघि नयाँ श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र मेनपावरको अनुगमनको काम भने वैदेशिक रोजगार विभाग बुद्धनगर र ताहचल कार्यालयबाट मात्र हुँदै आएको थियो । विभागले कात्तिकबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्र्तगतका धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने गरी अधिकार प्रत्यायोजन भएको विभागका अधिकृत प्रदीपकुमार ढकालले जानकारी दिए ।
हालै दिएको प्रत्यायोजन अनुसार यी ५ कार्यालयलाई प्रारम्भिक चरणमा पुन: श्रम स्वीकृति प्रदान गर्ने गरी यसअघि नै अधिकार दिइएकाले सोही अनुसार काम भइरहेको थियो । अब भने यी कार्यालयले नयाँ श्रम स्वीकृति तथा अनुगमनको समेत काम गर्न पाउने छन् । यो नियमसँगै हजारौ रुपैयाँ खर्च गरेर नयाँ श्रम स्वीकृति र अन्य वैदेशिक रोजगार सम्बन्धी काम गर्न काठमाडौं आउनु पर्ने झन्झट हटेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली युवा र सोसँग सम्बन्धीत सरोकारवालाको सहजताको लागि प्रत्यायोजित अधिकार मध्येबाट थप अधिकार यी श्रम तथा रोजगार कार्यालयलाई प्रदान गर्दा सेवा प्रवाह सरल हुने भएको विभागको भनाइ छ । श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृतिलगायतका सम्पूण कार्य गर्ने गरी अधिकार प्रत्यायोजन गरिँदै आएकोमा अब बुटवलबाहेक अन्य ५ वटा श्रम तथा रोजगार कार्यालयबाट समेत सम्पादन हुने व्यहोरा अनुसार निर्देशन भएको विभागले जनाएको छ ।
अब वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालय ताहचलबाट मात्र हुँदै आएको माग निर्धार गरी पूर्व श्रम स्वीकृतिको निवेदन लिने र दिने काम देशभरमा रहेका प्रदेशस्तरका कार्यालय समेत गर्न पाउने भएका छन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा १६ अनुुसार तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि निवेदन लिने र श्रम स्वीकृति दिने काम प्रदेश कार्यालयबाटै हुने जनाइएको छ । यसैगरी ऐनको दफा २१ अनुसार वैदेशिक रोजजगारका लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने काम पनि हुने छ ।
यसैगरी अब तोकिएका कार्यालयबाट काठमाडौ बाहिर रहेका मेनपावरको अनुगमन तथा निरीक्षण समेत श्रम तथा रोजगार कार्यालयले गर्ने छन् । यसअघि यस्तो कार्य वैदेशिक रोजगार विभागको बुद्धनगरमा रहेको कार्यालयले गर्दै आएको थियो ।