Logo

खेलकुदमा पर्याप्त बजेट नहुँदा पूर्वाधार बन्न सकेन

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको नेतृत्वले सम्पन्न गरेको हो । यही सेरोफेरोमा रहेर सदस्य–सचिव घिसिङसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय ढाँचाअनुसार पहिलो पटक गण्डकी प्रदेशमा सम्पन्न भयो, कोरोनाका कारण अन्योल भएको प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा समग्र प्रतियोगितालाई प्रदर्शनका हिसाबमा कसरी मूल्यांकन गर्नुभयो ?
लामो समयपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल भयौं । कोभिडका कारण थलिएका अन्य प्रतियोगिता पनि हुन नसकेको अवस्था थियो । खेलाडीहरू लामो समयदेखि राष्ट्रिय प्रतियोगिताको प्रतीक्षामा थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले लामो समयदेखि कुरिरहेका खेलाडीको चाहना पूरा भएको छ । त्योभन्दा अगाडि नियमित खालका र श्रृंखलाबद्ध तरिकाले आयोजना हुने प्रतियोगिता नभई राष्ट्रिय प्रतियोगिता हुन गयो, यसले खेलाडीहरूमा उत्साह नै रहेको छ । तर, सँगसँगै विभिन्न अभ्यास, प्रतियोगिताहरू नहुँदै एकैपटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्दा खेलाडीले गरेको अपेक्षाअनुसार भएन । लामो समयपछि प्रतियोगितामा सहभागी हुनुपर्दा खेलाडीमा इन्जुरीको समस्या अलि बढी देखियो ।

यति ठूलो प्रतियोगिता आयोजना गर्दा व्यवस्थापनको पक्षलाई कसरी नियाल्नुभयो ? यद्यपि कतै–कतै व्यवस्थापकीय विषयमा केही प्रश्नहरू पनि उठेका छन् ?
प्रतियोगिता आयोजनाका लागि सार्वजनिक खरिद ऐन र नियमावलीभन्दा बाहिर गएर कार्य सम्पादन गर्न सम्भव थिएन । सोहीअनुसार अगाडि बढ्नुपर्दा प्रक्रिया अलि लामो हुने गर्छ । यही पटक पनि खरिद प्रक्रियामा जाँदा ३० दिन, १५ दिन, ७ दिन क्रमश: पालना गर्दै अगाडि बढ्यौं । ऐन र नियमका सबै बुँदामा टेकेर प्रक्रियालाई सम्पन्न गर्‍यौं । यद्यपि खेलकुदमा यो प्रक्रिया नसुहाउँदो र कठिन हुने रहेछ । किनभने खेलकुद गर्ने भनेको आकस्मिकजस्तै हुन्छ । हुन त दुई–दुई वर्षमा आयोजना गर्ने नियम थियो, तर अहिलेको अवस्थामा त्यो थिएन । हामीले प्रतियोगिता आयोजना गर्नु थियो । नवौंको नै सन्दर्भमा पहिलो हामीले जेठमा आयोजना गर्ने भनेका थियौं । त्यसपछि असोजको समय राख्यौं । २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना गरेर प्रतियोगिता सम्पन्न गर्‍यौं । तर, सरकारको खाता सञ्चालनसम्बन्धी प्रक्रिया, खरिद गर्ने प्रक्रिया निकै पेचिलो नै छ । नयाँ आर्थिक वर्षको सुरुवातको बीचबाट खरिद प्रक्रियालाई टुंग्याउनुपर्नेछ । नयाँ आर्थिक वर्ष सुरु भएको झन्डै एक महिनापछि नै सरकारको खाता नै सञ्चालन हुँदैन । यस्तो चुनौतीपूर्ण अवस्थाबाट खेलाडीहरूलाई सहभागिता गराउने परिस्थिति निर्माण गर्‍यौं । राष्ट्रिय खेलकुद प्रतियोगिता तय भएको मितिमा नै सञ्चालन गर्न सफल भयौं । आर्थिक विनियोजनका कारण तय भएको मितिमा प्रतियोगिता प्रभावित हुन पाएन, जसका कारण समयमा नै आयोजना गर्न सफल भयौं । यद्यपि समय अभावका कारण भएको भन्दा अझै व्यवस्थित तरिकाले गर्न चुनौती रह्यो । नयाँ राष्ट्रिय खेलकुद ऐन आइसकेपछिको पहिलो खेलकुद हो । जिम्मेवारीहरू प्रदेश र सहभागी टिमहरूको काँधमा थियो । टिम छनोट गर्ने जिम्मा सम्बन्धित प्रदेशलाई थियो । यसका अतिरिक्त टिमलाई अभ्यास गराउने, तालिम दिने पनि प्रदेशको नै जिम्मेवारी थियो । यो बीचमा कुनै प्रदेशले टिम छिटो र कुनै प्रदेशले अन्तिम समयमा गर्‍यो । जसले गर्दा बन्द प्रशिक्षण कतिपय टोलीको लामो समयसम्म रह्यो भने कतिपयले छोटो तयारीमा सहभागी हुनुपर्‍यो । यो बीचमा विभागीय टोलीको लामो समयदेखिको प्रशिक्षण रह्यो । यसले गर्दा प्रतियोगितामा अलि व्यवस्थित भएन कि भन्ने प्रश्न हो, जुन स्वाभाविक हो । अब यसलाई निराकरण गर्न १०औंमा संघीय मर्मअनुसार र नयाँ खेलकुद विकास ऐन, २०७७ अनुसार सहभागी हुने सबै टिमले तयारी गर्नुपर्छ । आयोजक टिमले सहभागीहरूलाई दिने सेवासुविधा, खास गरी पुरस्कार राशिमा आउँदो दिनमा बढाउनुपर्छ भन्ने निष्कर्ष मेरो छ ।

प्रतियोगिताको दौरानमा खेलाडीहरू चोट बोक्न बाध्य भए, केही खेलमा मापदण्डअनुसार खेल स्थल भएन भनेर टीकाटिप्पणीहरू पनि आए, टीकाटिप्पणी भएजस्तो पूर्वाधारमा कमजोरी हो र ?
हामीले प्रतियोगिता आयोजनका लागि खेलस्थल उपसमिति गठन गरेका थियौं । यो समिति व्यवस्थापकीय रूपमा सहकार्य र समन्वय गर्ने कमिटी मात्र थियो । टेक्निकल्ली फाइनलाइज गर्ने कमिटी भने थिएन । त्यसका कारण हरेक खेलको प्रमुख प्रशिक्षक, संघको अध्यक्ष र संघको प्रतिनिधिसहितको तीन सदस्यीय टोलीलाई हरेक खेलस्थलमा सम्बन्धित खेल आयोजना गर्न कति उपयुक्त छ, तपाईंहरूले फाइनल रिपोर्ट दिनु भनेपछि प्राप्त रिपोर्टका आधारमा खेलस्थल तोकिएको थियो । सम्बन्धित खेलका पदाधिकारीले लिखित रूपमा दिएको रिपोर्टका आधारमा राखेपले खेलस्थल तोकेको हो । खेलस्थल उपसमितिले तोकेको खेलस्थलमा खेलस्थल तोकिएको होइन । यससँगै जोडिएको अर्को विषय खेलाडीमा इन्जुरी हो । यो स्तरको राष्ट्रिय प्रतियोगिता केही खेलको भए पनि हामीले समावेश गरेका प्रतियोगिता सबैको भएको थिएन । एकै पटक प्रतियोगिता हुँदा केही इन्जुरी पर्‍यो । तर, यसको व्यवस्थापनका निमित्त राष्ट्रिय खेलकुद परिषद्, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिले पहिले नै सावधानी अपनाइसकेको छ । सम्पूर्ण खेलाडी र अफिसियल्सको बिमा गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको दौरानमा हुने बिरामी, इन्जुरी सबैको बिमा गरिएको छ । प्रतियोगिताको दौरानमा भएका इन्जुरी र बिरामीलाई राखेपले अहिले पनि गरिरहेको छ । खेलाडीहरू पूर्ण रूपमा निको नहुने अवस्थासम्म सम्पूर्ण खर्च राखेपले व्यवस्थापन गर्छ ।

राखेपमा सदस्य–सचिवको जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय खेलुकद गर्ने र एसियन गेम्सका लागि खेलाडीलाई प्रशिक्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो, सोअनुसार राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ, अब एसियन गेम्सको तयारी खेलाडीले कहिलेबाट थाल्छन् त ?
राष्ट्रिय खेलकुद परिषद्को दायित्व दुई विषयमा मूलत: हुने गर्छ । पहिलो भनेको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने । अहिलेको अवस्थामा राष्ट्रिय खेलकुद आयोजना गरेर एउटा संस्करण पार गरेका छौं । इतिहासमा पहिलो पटक अर्को संस्करण (१०औं) कहिले गर्ने मिति, गते सबै टुंग्याएका छौं, जुन इतिहासमा पहिलो पटक होला । यति वर्ष पछाडि होइन, साल होइन, महिना होइन, हामीले गतेसम्म तोकेका छौं । २०८१ साल २ मंसिरदेखि ९ गते सम्मलाई घोषणा गरेका छौं । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने भनेका छौं । आउँदो ८ मंसिरमा परिषद्को १ सय १६औं बैठक तोकिएको छ । उक्त बैठक हामीले मुगुको रारामा गर्ने निर्णय पनि गरेका छौं । रारामा हामीले लोगो र मस्कट पनि सार्वजनिक गर्नेछौं । दसौं राष्ट्रिय खेलकुदको तयारी सोहीपश्चात् सुरु गर्छौं । नवौंमा केही मूल्य र मान्यताहरू अगाडि सारिएको थियो । जस्तै रनिङ ट्रफी, राखेपको आफ्नै एप्लिकेसन, डेडिकेटेड वेबसाइट बनायौं । १ सय १६औं बैठक पश्चात् दसौं डेडिकेटेड वेबसाइट बनाउँछौं । खेलाडीहरूको दर्ता अनलाइनबाट गराएर अभिलेखीकरणलाई व्यवस्थित गर्न सकेका छौं । सम्पूर्ण खेलाडीहरूको अभिलेखीकरण हामीले सुरक्षित बनाएका छौं, जुन आगामी दिनमा कस्तो रणनीति बनाउन सहयोग पुर्‍याउँछ । पहिलो पटक हामीले डोपिङ टेस्ट गरेका छौं । अनुसन्धार उपसमिति बनाएर खेलाडीहरूको अध्ययन गर्ने काम हामीले यो संस्करणबाट गरेका छौं ।
यससँगसँगै अर्को काम भनेको अन्तर्राष्ट्रिय सहभागिता हो । त्यो अन्तर्राष्ट्रिय सहभागिता भनेको नजिकिँदै गरेको १९औं एसियन गेम्स हो, जुन चीनमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुदबाट थुप्रै नयाँ अनुहार उदाएका छन् । यो प्रतियोगिता चलिरहँदा उत्कृष्ट प्रदर्शन गरेकालाई व्यक्तिगत तरिकाले सम्पर्क गरेर बधाई र तयारी रहन भनेको छु । सम्बन्धित संघका पदाधिकारी र तालिम तथा प्रशिक्षण विभागसँग छलफल गरेर तिहारलगत्तै एसियन गेम्सको तयारी थाल्नेछु । तयारी दुई खालको हुनेछ । एउटा आमसहभागिता र अर्को रणनीतिक सहभागिता हुनेछ । आम तयारीअन्तर्गत देशको सहभागिता र त्यसमा राम्रा खेलाडीको सहभागिता हुनेछ । रणनीतिक सहभागितामा भने पदकको अपेक्षाअनुसार तयारी गरिनेछ । कुन खेलमा कुन खेलाडीबाट पदक ल्याउन सकिन्छ भनेर रणनीतिक तयारी गर्नेछौं । यो तयारी ढिलोमा मंसिरको मध्यतिरबाट अगाडि बढ्नेछ ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने भन्दै गर्दा पूर्वाधारको विषय अगाडि सरेको छ, तोकिएको मितिमा कर्णाली प्रदेशमा सम्पन्न गर्न सकिन्छ ?
नेपाली खेलकुदका दुई विषयमा म सीधा कुरा गर्छु । पहिलो कुरा पूर्वाधार पर्याप्त छ भन्दा छैन र बजेट पर्याप्त छ भन्दा पनि छैन भन्छु म । जोडिएको विषय १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुन्छ त भन्ने हो । नवौंभन्दा १०औं चुनौतीपूर्ण हो । सबैले देखेको पनि यही चुनौती हो । त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं । त्यसरी घोषणा गर्दा सम्बन्धित प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । अहिले कर्णाली प्रदेशले बहुप्रतीक्षित र चर्चित स्टेडियम बनाउँदै छ, जुन सुर्खेतमा हुँदै छ । जहाँ १४ वटा खेलको खेल स्थल समावेश छ । फुटबल मात्र होइन, स्विमिङ पुल, कभर्ड हलदेखि धेरैको खेल हुने स्थल बनाउने काम भइरहेको छ । उक्त योजना वि.सं २०८१ साल १४ जेठमा हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । अहिलेसम्मको कार्यप्रगति ३० प्रतिशतभन्दा माथि छ । कर्णाली प्रदेश सरकार र त्यहाँको खेलकुद परिषद्बाट त्यहाँको निर्माण व्यवसायीले दिएको प्रतिबद्धताअनुसार सकेसम्म ६ महिना अगाडि हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँहरूको प्रतिबद्धता भएको रिपोर्ट पाएको छु । अहिलेको अवस्थामा चुस्त तरिकाले काम अगाडि बढिरहेको छ । यससँगै क्रिकेट र रग्बीको स्टेडियम बनाउने काम पनि अगाडि बढेको छ । रुकुमको चौरजहारी स्टेडियमको निमार्णका लागि भर्खरै टेन्डर प्रक्रिया अगाडि बढेको छ । जुम्ला अर्को हाई अल्टिच्युड सम्भावना भएको खेलस्थल हुन सक्छ । त्यहाँको सम्भावनामा अध्ययन गरिरहेका छौं । अब १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद र केन्द्रीय सरकारले के गर्ने भन्ने विषयमा प्रदेश सरकारसँग तत्कालै टुंग्याएर एउटा कामको जिम्मा केन्द्रीय सरकारले लिनुपर्छ भन्नेमा म छु । यही प्रस्तावअनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसँग आवश्यक सल्लाह र समन्वय गरेर अर्थ मन्त्रालयबाट थप बजेट विनियोजन गर्ने रहेको छ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट त छँदै छ, त्यसको आकार बढ्ने गरी परामर्श गर्ने रहेको छ । नवौंमा पनि बजेट रातो किताबमा मात्र १० लाख थियो । तर, सरकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट निकासा गर्दै भव्य प्रतियोगिता आयोजना गर्न सक्यौं । सोही कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने बजेट उपलब्ध हुनेमा म आशावादी छु । यो सरकारको निर्णय पनि हो । केन्द्रीय सरकार र प्रदेश सरकारको समग्र सहयोगमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार सम्पन्न गरेर आयोजना सफल पार्न सकिन्छ ।

ब्रेकर :

खेलाडीहरूको सेवा–सुविधा र पुरस्कार राशिमा वृद्धि हुन आवश्यक छ ।

नेपाली खेलकुदमा पहिलो कुरा पर्याप्त पूर्वाधार र पर्याप्त बजेट छैन ।

१०औं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने कुरा चुनौतीपूर्ण छ ।

लामो समयपछि प्रतियोगितामा सहभागी हुनुपर्दा खेलाडीमा इन्जुरीको समस्या अलि बढी देखियो ।
आयोजक टिमले सहभागीलाई दिने सेवासुविधा, खास गरी पुरस्कार राशिमा आउँदो दिनमा बढाउनुपर्छ भन्ने निष्कर्ष मेरो छ ।

प्रतिक्रिया दिनुहोस्